Latest News from Terai Madhesh

‘माफ गर्नुहोला ! तपाई बाहुन हो, विभेद देख्न सक्नुहुन्न’

१२ जेठ, काठमाडौं । भद्र र शालीन स्वभावका सिके लालले पछिल्लो समयमा खरो लेखकको पहिचान बनाएका छन् । खासगरी मधेसका एजेन्डाहरुलाई लिएर उनी निकै चर्का लेखहरु लेख्ने गर्छन् ।

महोत्तरीमा जन्मेका सिकेको घरजम काठमाडौंमै छ । कुलेश्वरमा घर बनाएपछि उनी काठमाडौंको मतदाता बने । तर, उनका लेखहरुमा सबैभन्दा ठूलो आक्रोश ‘काठमाडौं’ विरुद्ध नै पोखिएको हुन्छ । उनी मधेसमाथि काठमाडौंले विभेद गरेको भनेर अनवरत बोल्ने/लेख्ने गरिरहन्छन् ।

सिके लामो समय सरकारी सेवामा थिए । पेशाले सिभिल इन्जिनियर उनले सडक विभागको जागिरबाट ६२/६३ को आन्दोलनपछि अवकाश लिएका हुन् । ३० वर्षदेखि स्तम्भ लेखनमा रहेका उनी अंग्रेजी र नेपाली दुवैमा लेख्ने गर्छन् ।

सिके लालसँग करिब २ घन्टा व्यक्तिगत तथा राजनीतिक विषयमा वार्तालाप भयो । मीठो लवजमा उनले आफ्ना विचारहरु राखे । आफूमाथिका आलोचनात्मक प्रश्नहरुलाई ‘पूर्वाग्रही’ को तक्मा पनि भिराए ।

प्रस्तुत छ लेखक सिके लालसँग गरिएको कुराकानीः

तपाई आफूलाई कसरी चिनाउनुहुन्छ ?

सामान्य व्यक्ति हुँ । लेखपढमा रुची राख्छु । एउटा के हुँदो रहेछ भने समाजमा शिक्षाले पनि परिचय बनाउँदो रहेछ । अहिले पनि कतिले इन्जिनियर सा’ब भन्छन् ।

तर, तपाईंलाई इन्जिनियर भनेर कमैले चिन्छन् होइन ?

मलाई इन्जिनियर भनेर चिन्ने एउटा सर्कल छ । लेखक भनेर चिन्ने अर्को सर्कल छ, जुन अलि ठूलो छ । इन्जिनियर र लेखक दुवैका रुपमा चिन्नेहरु पनि छन् ।

तपाईं कस्तो परिवारमा जन्मिनुभएको हो ?

सामान्य किसान परिवारमा जन्मेको हुँ । महोत्तरीको सुगा भवानीपट्टमिा थियो घर, जुन अहिले जलेश्वर नगरपालिकामा मिसियो । खेतिपाती थियो, तर धेरै उब्जनी हुने खालको होइन । यद्यपि, खान-लाउन दुःख थिएन । मेरा ६ जना दाजुभाइ र एक बहिनी छन् ।

सानोमा पढाइ कस्तो थियो ?

म पढेको लक्ष्मीचन्द मुरारका उच्च विद्यालय त्यो क्षेत्रकै सबैभन्दा राम्रो स्कुलमा गनिन्थ्यो । अहिले त नाफा क्षेत्रका स्कुलले उछिने । ०३० सालमा जतिबेला देशभरमा फर्स्ट डिभिजन ल्याउने १०० नाघ्दैनथे, त्यही स्कुलबाट मैले फर्स्ट डिभिजन ल्याएको थिएँ । त्यतिबेला फर्स्ट डिभिजन ल्याउनेले रोज्ने भनेको डाक्टर वा इन्जिनियरिङ नै हो । मैले इन्जिनियरिङ रोजेँ ।

काठमाडौं बसाई चाहिँ कहिलेदेखिको हो ?

एसएलसी पास भएलगत्तै कलेजहरुका बारेमा बुझ्न काठमाडौं आएको थिएँ । तर, डिप्लोमा इन सिभिल इन्जिनियरिङ पढ्न बैंगलौर गएँ । त्यसपछि ब्याचलर इन सिभिल इन्जिनियरिङ उत्तर प्रदेशको अलिगर मुस्लिम युनिभर्सिटीबाट गरेँ । त्यो सिध्याएर काठमाडौं आएर सडक विभागमा जागिर सुरु गरेको हुँ । सुरुमा अस्थायी र पछि स्थायी भएँ ।

बीई गरेर नोकरी थालेपछि मलाई लागेको थियो कि मास्टर्स पढ्न अफिसले विदेश पठाउँछ । तर, पहिले ‘तपाईं नयाँ हुनुहुन्छ, सिनियरलाई मौका दिउँ’ भने । पछि ‘तपाईं जस्तो सिनियरले त काम गर्नुपर्छ, नयाँलाई पढ्न पठाउँ’ भने ।

जब पुल्चोकमा इन्जिनियरिङ कलेज खुल्यो, त्यहाँ पहिलो ब्याचमा एड्मिसन भएर मास्टर्स गरेको हुँ । त्यसयता निरन्तर काठमाडौंमा नै बसोबास भयो ।

उमेर छँदै जागिरबाट अवकाशचाहिँ किन लिनुभयो ?

आफूभन्दा धेरै जुनियर कर्मचारी पदोन्नति भएर मभन्दा माथि पुगे । त्यसले मलाई काम गर्न गाह्रो भयो । ०६२/६३ को आन्दोलनपछि लामो समय बिदा बसेँ र विदा सकिएपछि स्वेच्छिक अवकाश लिएँ ।

लेखनमा चाहिँ कहिलेदेखिको झुकाव हो ?

कलेज पढ्दादेखि नै लेखहरु लेख्ने गर्थेँ । तर, अंग्रेजीमा मात्रै लेख्थेँ । प्रजातन्त्र आउनुभन्दा अगाडि राजनीतिक विषयमा लेख्न गाह्रो थियो । ‘पोखरा डुल्न जाउँ’, ‘नगरकोटबाट हिमाल राम्रो देखिन्छ’ भन्ने खालका लेखहरु लेख्ने गर्थेँ ।

स्तम्भ लेखनको सुरुवातचाहिँ कसरी गर्नुभयो ?

०४६ सालपछि जनमञ्च भन्ने पत्रिका निस्कियो । त्यसका प्रकाशक किशोर सिलवालले मलाई नेपालीमा लेख्न आग्रह गर्नुभयो । त्यसैबाट मैले नेपालीमा स्तम्भ लेख्न सुरु गरेँ ।

तर, नेपालीमा लेख्दा मलाई घाटा थियो । किनकि मेरो नेपाली त्यति राम्रो नभएकाले धेरै मिहिनेत पथ्र्यो । तर, पारिश्रमिक चाहिँ अंग्रेजीको भन्दा आधाजति मात्रै आउँथ्यो । त्यसैले मैले केही समयपछि त्यो स्तम्भ छाडेँ ।

तर, त्यसयताका ३० वर्ष कुनै न कुनै पत्रिकामा जोडिएर कम्तिमा हप्ताको एउटा स्तम्भ लेख्दै आएको छु ।

त्यतिबेला एउटा लेखको कति पारिश्रमिक लिनुहुन्थ्यो ?

राइजिङ नेपाल, स्पट लाइट, इन्डिपेन्डेन्ट जस्ता अंग्रेजी पत्रिकाले ४ सय जति दिन्थे । नेपाली पत्रिकामा लेख्दा २ सय, अढाई सय मात्रै आउँथ्यो ।

नेपालीमा लेख्न सुरुमा गाह्रो लाग्थ्यो भन्नुभयो, पछि यसलाई कसरी निरन्तरता दिनुभयो ?

यसमा सबैभन्दा ठूलो जस किशोर नेपाललाई दिन्छु । हिमालय टाइम्स भन्ने दैनिक पत्रिकाको सम्पादक भएपछि उनले मलाई हकार्दै भने- अंग्रेजीमा आफैं लेख्ने, आफैं पढेर मख्ख पर्ने त हो । मेरोमा नेपालीमा लेख, धेरैले पढ्छन् ।

उनकै प्रेरणाले गर्दा मैले निरन्तर नेपालीमा पनि लेख्न थालेँ । तर, मेरो सर्कलका साथीहरुले भने नेपालीभन्दा पनि अंग्रेजी नै पढ्थे ।

त्यतिबेला लेख्नुको प्रयोजन बुद्धिविलास मात्र थियो कि पैसाका लागि पनि ?

मुख्य त पैसाकै लागि थियो । सरकारले दिएको तलब थोरै हुन्थ्यो । खर्च पुर्‍याउन गाह्रो । लेखेर आएको पैसाले ठूलो भरथेग हुन्थ्यो । त्यसैले भ्याएसम्म लेख्थेँ । राजनीतिक-सामाजिक विषयमा मात्र नभएर रेस्टुरेन्ट रिभ्यूदेखि पुस्तक समालोचनासम्म लेखेँ । शरीरमा जोश भएकाले जहाँ पनि लेख्न पाए हुने भन्ने लाग्थ्यो । पैसाको लोभले गर्दा नजानेको विषय बुझेर पनि लेखियो ।

भारतीय पत्रिकाहरुमा पनि निकै लेख्नुभयो होइन ?

भारतबाट निस्किने टाइम्स अफ इन्डिया, हिन्दूस्तान टाइम्स, फ्रन्ट लाइन जस्ता पत्रिकाहरुमा लेखेँ । कोलकाताको टेलिग्राफमा लेखेँ । दिल्लीबाट प्रकाशित हुने जनसत्ता भने पत्रिकामा स्तम्भकार नै भएँ । तर, पछिल्लो समयमा भारतीय अखबारमा लेख्न बन्द गरेको छु ।

किन ?

पारिश्रमिक लिनमा समस्या भयो । एक त ३० प्रतिशत कर काट्ने । अर्को, भारतबाट नेपालमा पैसा पठाउन रिजर्भ बैंकको अनुमति लिनुपर्ने भएकाले झमेला भयो भन्ने कुरा गरे । कि त भारतीय बैंकमा अकाउन्ट खोल्नुपर्ने थियो । त्यसका लागि भारतको आधार कार्ड चाहियो । त्यो नभएपछि लेख्नै बन्द गरेँ ।

तपाईं पहिले कांग्रेसपरस्त लेखक भनेर चिनिनुहुन्थ्यो । पछिल्लो समय मधेसपरस्त भन्न थालिएको छ । यो रुपान्तरणको टर्निङ प्वाइन्ट के हो ?

यो कस्तो छ भने धेरैजसो पाठकहरु बौद्धिकरुपमा अल्छी छन् । लेखकलाई एउटा सानो खोपीमा राखिदिएपछि अथ्र्याउन सजिलो भयो नि त । तर, कांग्रेसतिर झुकाव नै नभएको भने होइन । पञ्चायतकालमा अलिकति पनि राजनीतिक चेत भएको व्यक्ति स्वभाविकरुपमा कांग्रेसको समर्थक हुन्थे । म पनि थिएँ । जहाँसम्म अहिले मधेसपरस्त भन्ने आरोप छ, त्यो हेर्नेहरुको दृष्टिदोष मात्रै हो । म कमजोर समुदायको पक्षमा लेख्छु ।

तर, पहिले राष्ट्रिय राजनीतिमाथि कलम चलाउने तपाईं पछिल्लो समय क्षेत्रीय मुद्दाहरुमा खुम्चिनुभएको त हो नि ?

जो कमजोर छ, त्यसको पक्षमा उभिने लेखकको दायित्व हो । पहिले कांग्रेसबाट मधेसलाई धेरै आश थियो । कांग्रेसले धेरै गरेको पनि हो । संसदमा समानुपातिक प्रतिनिधित्वदेखि जनसंख्यामा आधारित निर्वाचन क्षेत्रसम्मको सुनिश्चितता ६२/६३ पछिको गिरिजाप्रसाद कोइरालाको सरकारले गरेको हो ।

आज जति पनि आरक्षणबाट मधेसी अधिकृत भएका छन्, त्यो कुनै क्रान्तिकारी पार्टीको सरकारले गर्दा होइन, गिरिजाप्रसादको सरकारले सम्भव बनाएको हो । मधेसको पक्षमा निर्णयहरु गर्दा काठमाडौंले कांग्रेसलाई ‘मर्स्या पार्टी’ या अराष्ट्रिय तत्वसम्म भने ।

कांग्रेसबाट मधेसले अझै धेरै पाउँछ भन्ने आशा थियो । तर, पहिलो संविधानसभाको षडयन्त्रमूलक विघटन र गिरिजाको अवसानपछि कांग्रेस पनि एमाले र माओवादीजस्तै भयो । सन् २००६ पछि कांग्रेस, एमाले, मसालेमा कुनै फरक नै रहेन । कांगे्रेसबाट मोहभंग भएपछि मैले आफूलाई मधेसका एजेन्डामा बढी समर्पित गरेको हुँ ।

तर, मधेसका बारेमा मात्रै बढी लेखिरहँदा आफ्नो लोकप्रियतामा तीव्र ह्रास आएको र आलोचकहरु ह्वात्तै बढेको महसुस भएको छैन ?

त्यसले मलाई के फरक पर्छ ?

लोकप्रियतालाई ठूलो कुरा मान्नुहुन्न ?

म त्यस्तोखाले लेखक होइन, लोकप्रियताको पछि कुद्ने । मलाई लेखेको पारिश्रमिक चाहिन्छ, बस् । कसैले वाह ! वाह ! सिके लालले क्या लेख्यो भन्दैमा म फुरुक्क पर्नेवाला छैन । कसैले गाली गर्दैमा हतोत्साही पनि हुन्न । मेरा पाठक अझै लाखौंमा छन् ।

तर, आफूले लेखेका कुरामा यसरी निरन्तर गाली वर्षिँदा कतै गलत लेखिरहको छु कि भन्ने महसुस हुँदैन ?

गाली आउने भनेको इन्टरनेटमा हो । म त इन्टरनेट खासै हेर्दिनँ । कतिपय साथीहरुले सुनाइरहेका हुन्छन् । त्यसलाई म वास्ता गर्दिनँ । यो समाज नै जातिवादी छ । त्यसमा पनि पढेलेखेका र गाली गर्ने आँट गर्ने भनेका बाहुन हुन् ।

माफ गर्नुहोला, तपाईं पनि बाहुन हुनुहुन्छ । तर, यो छुचो जात नै हो । छुचोले गाली गर्‍यो भनेर किन मन दुःखाउनु ? दक्षिणा पनि लिने, तर थोरै भयो भनेर गाली गर्ने बाहुन प्रवृत्ति हो ।

तर, अरुले त तपाईंलाई जातिवादी भन्छन् नि ?

म त जातिवादी हुँदै होइन । म कमजोरको पक्ष लिन्छु, त्यत्ति हो । यसको अर्थ, म कुनै ईश्वर पनि होइन ।

तपाईंका लेखहरुमा साम्प्रदायिक तथा जातीय विद्वेष भड्काउने खालका भावनाहरु छन् भन्ने आरोप लाग्ने गरेको छ नि ?

जो साम्प्रदायिक हुन्छ, त्यसलाई अर्को पक्षको कुरा साम्प्रदायिक लाग्छ । साम्प्रदायिकको चश्मा उतारेपछि मेरा कुरा तार्किक लाग्छन् । वर्चश्ववादीको आँखाबाट हेर्दा कमजोरका कुराहरु विद्वेष भड्काउने खालको लाग्छ ।

म तपाईंलाई एउटा उदाहरण दिन्छु-

बैंकमा जाँदा ठूलो, रातो टीका लगाएको मानिसले नोट गनिरहेको छ भने तपाईंलाई असहज लाग्दैन । त्यही बैंकमा दाह्री पालेका र मुसलमान टोपी लगाएको छ भने तपाईंलाई असजिलो लाग्छ । ९५ प्रतिशत जातिवादी कुराहरु पढ्ने बानी बसिसकेकालाई बाँकी ५ प्रतिशत साम्प्रदायिक लाग्नु स्वभाविक हो ।

सत्तामा हालिमुहाली गरिरहेका पहाडीलाई एउटा मधेसीको अभिव्यक्ति कुण्ठित लाग्ने नै भयो ।

तपाईंको परिभाषामा मधेसी के हो ? एउटा जात वा निश्चित भौगोलिक क्षेत्रमा बस्ने समुदाय ?

भूगोलबाट मधेसीको परिभाषा हुन सक्दैन । मधेसमा बस्ने पहाडीहरुले आफूलाई मधेसी भन्न मिल्दैन ।

मधेसी भनेको जात पनि होइन । जात त हिन्दू धर्म व्यवस्थाले सिर्जना गरेको हो । मधेसी खासमा एउटा नृजातीयता हो, जसलाई अंग्रेजीमा एथ्निसिटी भनिन्छ ।

अब नृजातीयता भनेको के भन्नुहोला । जो एकअर्काको भाषा, संस्कृति बुझ्छ भावना बुझ्छ, जो एकअर्कालाई आफ्नो मान्छ त्यो चाहिँ नृजातीय हो ।

एउटा घटना भन्छु ।

पहिले सेलफोन लिनलाई फारम भर्नुपर्थ्यो र अधिकृतको सिफारिस चाहिन्थ्यो । म सडक विभागमा थिएँ । नेमप्लेट पढ्दै कपिलवस्तुको एउटा मधेसी सिफारिसका लागि मकहाँ आयो । म कहाँ कपिलवस्तुको मान्छे ! तिमीलाई त मैले चिनेको छैन भनेर कपिलवस्तुका पहाडी इन्जिनियरहरुको नाम दिएँ । तर, उसले भन्यो कि ‘वो दुसरे लोग है । आप तो अपने आदमी है । आप जरुर करदेंगे इस लिए आया हुँ ।’

त्यतिबेला फोटोकपी प्रमाणित गर्न झापादेखि धनगढीसम्मका मधेसी मकहाँ आउँथे । तर, एउटा पनि पहाडी समुदायका व्यक्तिहरु आएनन् । नृजातीयता भनेको यही हो । उस्तै भावना भएको ।

जस्तो कि- म विदेश जाँदा कुनै भारतीय मान्छे भेटेँ भने आफ्नै मान्छे भेटेजस्तो लाग्छ । त्यतिबेला राष्ट्रियता, धर्म सबै हराउँछ । नेपालमा बाहुन-क्षेत्री एउटा नृजातीय समूह हुन् । जनजाति अर्को नृजातीय समुह हुन् । मधेसी तेस्रो नृजातीय हुन् ।

मधेसीमाथि विभेद भयो भनेर लेख्दै आउनुभएको छ, त्यो विभेद कस्तो हो ? संविधान र कानूनमा कुनै विभेद छ र ?

तपाईंले विभेद देख्न सक्नुहुन्न । किनकि, तपाईं शासक वर्गको हुनुहुन्छ । संविधानमा लेखिँदैमा बराबरी भए त नेपालमा छुवाछुत उहिल्यै अन्त्य भइसकेको हुनुपर्ने हो । मधेसी ऐतिहासिक विभेदमा परेका छन् ।

संविधानले मधेसीलाई सरकारी सेवामा जति आरक्षण दिएको छ, त्यसको तुलनामा खस-आर्यलाई नगण्य छ, विभेद कहाँ छ ?

तपाईंको भाषा सत्ताको भाषा छ । तपाईंको धर्म सत्ताको धर्म छ । तपाईंको व्यवहार सत्ताको व्यवहार छ । तपाईंको दशैं सत्ताको दशैं छ । तपाईंको भाइटीका सत्ताको भाइटीका छ । मधेसको त भाषा, जीवनशैली, पोशाक केही पनि सत्ताको छैन । सत्ता भनेको नृजातीयको हुन्छ । तपाईंले देख्नै सक्नुहुन्न विभेद ।

तपाईं एक मधेसी समुदायको व्यक्ति हुनुहुन्छ । समाजमा यति मानप्रतिष्ठा कमाउनुभएको छ । लामो समय सरकारी जागिर पनि खानुभयो । यदि मधेसीलाई विभेद हुन्थ्यो भने के तपाईं यो स्थानमा पुग्न सफल हुनुहुन्थ्यो त ?

मैले आफ्नो क्षमताले जागिर खाएको हो । विभेद आफ्नो ठाउँमा भोगिरहेको छु । जस्तै- तपाईं र म सँगै सीडीओ अफिसमा गयौं भने तपाईंलाई बस्न भन्छ, मलाई उभ्याउँछ ।

एउटा घटना सुनाउँछु-

सन् १९९० को दशकमा म र खगेन्द्र संग्रौला बंगलादेश जाँदै थियौं । त्यतिबेला सिडिओ कार्यालयले राहदानी दिन थालिसकेको थियो । तर, जाने दिन आउन लाग्दा पनि मेरो राहदानी बनेको थिएन । खगेन्द्र दाइले सोध्नुभयो, राहदानी के भयो ? मैले बनेको छैन भनेँ । भोलिपल्ट उहाँ र म सँगै सिडिओ अफिसमा गयौं ।

राहदानी शाखामा सुब्बा सा’बले खगेन्द्र दाइलाई चिनेर नमस्ते गरे । मलाई गरेनन् । खगेन्द्र दाइले चिनाएपछि ‘ए तपाईंको साथी पो’ भनेर तुरुन्तै ढड्डा खोज्न लगाएर राहदानी बनाइदिए ।

अर्को प्रसंग पनि छ ।

दोस्रो संविधानसभामा डा. बाबुराम भट्टराईले संविधानका लागि सुझाव दिन सिंहदरबार बोलाउनुभएको थियो । मैले सिंहदरबार छिर्न गाह्रो हुन्छ भनेको थिएँ, तर उहाँले गेटमा नाम टिपाइदिन्छु भन्नुभयो । म टाइममै पुगेँ । गेटमा हुनेले परिचयपत्र माग्यो । मैले देखाएँ । त्यसपछि उसले ‘अनुहार मिलेन’ भनेर मलाई भित्र पस्न दिएन । अन्ततः डा. भट्टराईको पीए लिन आउनु भयो । त्यतिबेला मैले कस्तो व्यइज्यति महसुस गरेँ होला, तपाईं बुझ्न सक्नुहुन्न । मैले आधा घन्टा सिंहदरबारको गेटमा रोकिनुपर्‍यो ।

तर, यस्ता घटनामा राज्यको के दोष ? सुरक्षाकर्मीले अनुहार ठम्याउन सकेन र रोक्यो । मधेसी भनेर रोकेको त होइन होला नि ?

त्यही भन्दैछु । तपाईं अर्थ्याउनै सक्नुहुन्न । तपाईंले कहिल्यै भोगेको भए पो ।

भनेपछि, एउटा सुरक्षाकर्मीबाट कमजोरी भयो भने पनि सिंगो पहाडी समुदायलाई र सरकारलाई गाली गरेर बस्ने त ?

एउटा भनाइ छ ‘यु कान्ट कन्भिन्स एनिबडी एग्नेस्ट विथ हिज कन्भिक्सन’ । तपाईंको आस्था बनिसकेको छ कि नेपालमा मधेसीसँग विभेद छैन । कुनै पनि समस्या समाधान गर्न पहिले समस्या छ भन्ने स्वीकार्नुपर्‍यो । तपाईं मधेसीमाथि विभेद छैन भन्नुहुन्छ भने के कुरा गर्ने ?

नेपालमा पहिलो राष्ट्रपति र उपराष्ट्रपति मधेसी हुनुभयो । मधेसी दलका नेताहरु बारम्बार मन्त्री भएका छन् । सरकारी सेवामा आरक्षण नै छ । के यस्ता कुरालाई सकारात्मकरुपमा लिन सकिँदैन ?

मधेसका केही व्यक्तिहरु उच्च पदमा पुगे पनि नेपालको स्थायी सत्तामा परिवर्तन आएको छैन । दूधमा पानी मिलाउनुभो भने त्यो दूधै रहन्छ । पानीमा दूध मिलाएपछि पानी नै रहन्छ । यो यस्तै खालको कुरा हो ।

राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी गर्ने बेलामा दुई-चार दिन कुरौं न भन्दा प्रधानमन्त्री खड्गप्रसाद ओलीले भने- ‘सुई घोप्ने मान्छेलाई राजनीति के थाहा ?’ कांग्रेसकै कृष्णप्रसाद सिटौलाले भने- ‘उनले सही गरेनन् भने हामीले जानेका छौं ।’ सुशील कोइरालाले भने, ‘तिनलाई हामीले चिनेका छैनौं र ?’

के यो मधेसी राष्ट्रपति भनेर हेपिएको होइन ?

नेपाली भनेको एउटा सांस्कृतिक समूह मात्र हो । नेपाली राजनीतिक समूहमा नेपाली सांस्कृतिक समूह हावी छ । त्यसले मधेसीलाई समेट्दैन । सबैलाई समेट्न नेपालीय भन्नुपर्छ

यही स्थितिलाई परिवर्तन गर्न संघीयता, समानुपातिक, समावेशीको कुरा ल्याइएको हो । आरक्षण त्यसैका लागि हो । तर, यहाँ सबै गोलमटोल गरिएको छ । यो संघर्ष लामो कालसम्म चल्छ । खड्गप्रसाद ओलीले त यतिसम्म भन्नुभयो कि नेपालमा मधेसी छ, तर मधेस नै छैन । यो कहाँसम्मको हेपाइ हो ?

मधेस होइन, तराई भन्नुपर्छ भन्ने उहाँको आशय होला । पूर्वराजा ज्ञानेन्द्रले पनि हालै तराई भ्रमणमा जाँदा मधेस होइन तराई हो भन्नुभएको थियो । मधेसलाई तराई भन्दा तपाईंहरुलाई के फरक पर्छ ?

तराई र मधेसमा धेरै फरक छ । तराई विशुद्ध भौगोलिक क्षेत्र हो । मधेस भनेको सांस्कृतिक क्षेत्र हो । तराई त भारतमा पनि छ, तर मधेस नेपालमा मात्रै छ ।

तर, मधेस त भारतको ‘मध्यदेश’ बाट अपभ्रंश भएर मधेस भनिएको भन्छन् नि बुद्धिजिवीहरु ?

त्यसो त जे भन्दिए पनि भयो । खोज्दै जाँदा तराई पनि त ट्याराङ भन्ने फारसी भाषाको शब्दबाट आएको हो नि । उल्टापाल्टा तर्कको जवाफ हुँदैन ।

तपाईं आफूलाई पहिले मधेसी सोच्नुहुन्छ कि पहिले नेपाली ?

यो प्रश्न नै पूर्वाग्रही छ । उपनिवेशवादी प्रश्न भन्छु म यसलाई ।

तर, उत्तर नै दिन नसकिने प्रश्न त होइन होला ? जस्तो कि म आफूलाई पहाडी कि नेपाली भनेर सोधियो भने गर्वसाथ नेपाली भन्न सक्छु ।

म के हुँ भन्ने परिस्थिति र स्थानमा निर्भर हुन्छ । यदि म महोत्तरीमा छु, मैले नेपाली-मधेसी केही भनिराख्नै पर्दैन । सोध्दा पनि सोध्दैनन् । त्यहाँबाट निस्किएर चुरे काटिसकेपछि मधेसी हो कि नेपाली भन्ने प्रश्न आउँछ । दिल्ली जाँदा नेपाली हो कि भारतीय हो भनेर सोधिन्छ ? न्यूयोर्क पुग्दा नेपाली भन्ने कसैले सोच्दैन । अमेरिकी हो कि इन्डियन भनेर सोधिन्छ । ठाउँ अनुसारको उत्तर हुन्छ ।

पहिले त हामी सबै मानव हौं । त्यसपछि संस्कृतिको कुरा आउँछ । राष्ट्रियता परिवर्तनशील हुन सक्छ । सुगौली सन्धि अगाडि मेरो क्षेत्र इस्टइण्डिया कम्पनीले जितिसिकेको थियो । यदि त्यो क्षेत्र काठमाडौंका शासकलाई नफर्काएको भए म आज भारतीय हुन्थेँ । त्यसैले राष्ट्रियता परिवर्तनशील हो । सांस्कृतिक पहिचान जान पुस्तौं लाग्छ ।

त्यसोभए तपाईंका लागि मधेस बढी महत्वपूर्ण कि नेपाल ?

यो त झन् पञ्चायतकालमा रवीन्द्र मिश्रले सोध्नेजस्तो प्रश्न भयो । यो प्रश्नको उत्तर मैले सयचोटि दिइसकेको छु । मैले हरेकपटक यो सोध्नलायक प्रश्न नै होइन भन्ने गरेको छु । तर, सोध्न छोडिदैँन । यो बेइज्यत गर्न, होच्याउनलाई सोधिने प्रश्न हो ।

एकपटक जवाफ दिएदेखि त फेरि फेरि सोधिँदैनथ्यो होला नि ?

अहँ । म जवाफ दिन्नँ । जवाफ दिए पनि सोध्न छाडिने छैन ।

तपाईंले आफूलाई नेपाली होइन, नेपालीय भन्न रुचाउनुहुन्छ होइन ? यसमा के तर्क छ ?

ठीक भन्नुभयो । नेपाली भनेको एउटा सांस्कृतिक समूह मात्र हो । नेपाली राजनीतिक समूहमा नेपाली सांस्कृतिक समूह हावी छ । त्यसले मधेसीलाई समेट्दैन । सबैलाई समेट्न नेपालीय भन्नुपर्छ । मैले मात्र यो शब्द प्रयोग गरेको होइन । तारणीप्रसाद कोइरालाले राणाकालमै यो शब्दको प्रयोग गरेका थिए । नेपाली त असाम-दार्जीलिङमा पनि छन् ।

ठीक छ, प्रसंग बदलौं । पृथकतावादी अभियान चलाइरहेका सिके राउत केही समयअघि सरकारसित सम्झौता गरेर राजनीतिको मूलधारमा आएका छन् । यस विषयमा तपाईंको टिप्पणी कतै पढ्न पाइएन नि ?

मैले यसलाई महत्व नदिएकै हो ।

किन ?

सिके राउतलाई पहिलेदेखि नचिनेकाहरुलाई यो कुरा महत्वपूर्ण लाग्ला । उनी पहिले एमालेनिकट अनेरास्ववियूका समर्थक थिए । त्यो स्कुलिङबाट आएकाहरुले कस्तो राजनीति गर्छन् भन्ने थाहा पाएकाले मलाई नौलो लागेन ।

तर, उनको बिखण्डनवादी अभियानले थुप्रै मधेसी युवालाई भड्काइरहेको थियो । त्यो त्यागेर ठीक गरेजस्तो लाग्दैन ?

मधेसीलाई भड्काएको थियो भन्ने म ठान्दिनँ । उनले जे राजनीतिक गरिरहेका थिए, त्योसँग मेरो सहमति थिएन । तर, उनले अहिले जे गरिरहेका छन्, त्यो पनि ठीक हो पनि भन्ने पक्षमा छैन ।

किन ?

कुनै पनि कुरा सेतो वा कालोमा हुँदैन । विखण्डनको कुरामा म सहमत थिइनँ । उनको विखण्डनको कुराले मधेसको राजनीतिलाई बदनाम गरेको थियो । तर, अहिले जे गरिरहेका छन् त्यसले पनि मधेसलाई फाइदा गर्छ भन्न सक्दिनँ । उनको नयाँ पार्टीले पनि मधेसको खासै हित गर्छ जस्तो मलाई लाग्दैन ।

सिके राउतसँगको सम्झौतामा सरकार अनावश्यकरुपमा झुक्यो भन्ने चर्चा भयो । तपाईंको विचारमा सरकार झुकेको हो कि सिके राउत ?

दुवै पक्षले आफ्नो फाइदा हेरेर गरेका हुन् । झुकेका होइनन् । कुनै पनि सम्झौता झुकेर हुँदैन । लेनदेनमा कसैले बेसी पाउँछ । सरकारले पनि जितेकै हो । व्यक्तिगतरुपमा सिके राउतले पनि जितेकै हुन् ।

तर, सरकारको एउटा टाउको दुखाइ त हट्यो नि होइन ?

त्यो त भन्न गाह्रो छ । एउटाले कुनै विचार छोडेपछि त्यो विचारलाई अगाडि लैजाने नयाँ आउँछन् । केही कालका लागि सरकारलाई सहज होला । तर, यति सजिलै राजनीतिक मुद्दाको निर्क्यौल हुन सक्दैन ।

देश विखण्डन पनि कुनै राजनीतिक मुद्दा हो र ?

मुद्दा त ठूलै उठाएर चल्छ नि । माओवादीले त झन् सर्वहारा अधिनायकवाद स्थापना गर्ने जस्तो डरलाग्दो मुद्दा उठाएको थिएन ? त्यो भनेको नेपाललाई उत्तर कोरिया बनाउने होइन ?

सर्वहारा अधिनायकवाद त राजनीतिक मुद्दा नै होला नि । देश विखण्डनको एजेन्डालाई कसरी त्यससँग तुलना गर्न सकिन्छ ?

हामी यस्तो प्रश्न गर्छौं, जुन प्रश्न गर्न हामी महेन्द्रमाला रटेर हुर्केका छौं । विखण्डन भनेको के हो ? विखण्डन भनेको स्वतन्त्रता पनि हो । पाकिस्तान विखण्डन भएर बंगलादेश बनेको हो । पाकिस्तान विखण्डन भएकोमा दुःखी हुने कि बंगलादेश स्वतन्त्र भएकोमा खुशी हुने ? दोस्रो विश्वयुद्धका बेला ३० भन्दा बढी देश थिए । अहिले २ सयभन्दा बढी भए । के संसार बिग्रिँदै गएको मान्ने त ?

भनेपछि, भविश्यमा नेपाल पनि बिखण्डन हुने खतरा छ ?

राज्यले सम्हाल्न सकेन भने नेपाल विखण्डन हुन्छ । यही परिस्थिति लामो कालसम्म जान सक्दैन । विखण्डनभन्दा नराम्रो त विश्रृंखल हो । रुस टुक्रा-टुक्रा होला भन्ने कल्पना कसले गरेको थियो ? युगोस्लाभियाको के गति भयो ? राज्यसत्ताले न्याय गर्न सक्दैन भने त्यस्तो अवस्था आउँछ ।

भारतको कश्मिरमा ६०/७० वर्षदेखि के भइरहेको छ ? पञ्जाबमा, उत्तरपूर्वमा के भइरहेको छ ? झगडा गर्नुभन्दा छुट्टिनु राम्रो हो ।

एउटा अन्तरवार्तामा तपाईंले ‘मधेस नेपालसँग रहनुपर्ने कुनै कारण छैन’ समेत भन्नुभएको पढेको थिएँ । राज्यबाट पेन्सन खाइरहेको नागरिकले यस्तोसम्म बोल्न मिल्छ ?

यदि पूरा अन्तरवार्ता पढ्नुभएको भए त्यसमै मैले व्याख्या गरेको छु । राष्ट्रिय एकताका आधार भनेको के हो त ? पहिलो, त्यो राष्ट्रभित्र बस्ने सबैलाई समानताको अनुभूति हुनुपर्‍यो । दोस्रो, न्यायको सुनिश्चितता हुनुपर्‍यो । तेस्रो, हिजो हामी जहाँ थियौं त्यहाँभन्दा अगाडि बढ्दैछौं भन्ने भावना आउनुपर्‍यो । चौथो, म अरुको तुलनामा पछाडि छैन भन्ने महसुस हुनुपर्‍यो । अहिलेको नेपालमा मधेसी भएर सोच्नुभयो भने यी चारैवटा कुराहरु छैनन् ।

यदि पीडित समुदाय छरिएर रहेको छ भने उसले सहेर बस्छ । तर, मधेसी त छरिएका छैनन् । काठमाडौंमा १० लाख जति होलान्, अरु त सबै मधेसमै छन् । उनीहरुमाथि निरन्तर अवहेलना छ । समानता उन्मूख छैन । न्यायको बाटो देखिँदैन । निराश हुँदै गएपछि मान्छे आत्मघातको बाटोमा जान्छ । ‘वर्स्ट केस सिनारियो’ यो हुन सक्छ ।

यति व्याख्या गरिसक्दा पनि सारा रामायण पढिसकेर लंका जलाउने को थिए ? भन्ने जस्तो प्रश्न गर्छन् मानिसहरु ।

तर, यस्तै धारणाले गर्दा तपाईलाई मानिसहरुले पृथकतावादीको आरोप लगाए भने नि ? यसमा कत्तिको सचेत हुनुहुन्छ ?

मलाई के फरक पर्छ ? काम गरेर खाने हो । इमेजको चिन्ता मलाई छैन । जसलाई भोट लिनु छ, उसलाई इमेजको चिन्ता हुन्छ । जसलाई प्रेमिका खोज्नुछ, उसलाई इमेजको चिन्ता हुन्छ । जसलाई नोकरी खोज्नु छ, उसलाई इमेजको चिन्ता हुन्छ । मेरा लागि इमेजभन्दा सत्य महत्वपूर्ण हो ।

तर, तपाईंले भनेजस्तो तराईमा मधेसी मात्रै पनि त छैनन् नि । गैरमधेसीको पनि बसोबास बढिरहेको छ । यसलाई कसरी लिनुहुन्छ ?

हो, पहाडका धेरै मानिसहरु आएर तराई ओगटेका छन् । यो काम योजनावद्धरुपमा भइरहेको छ । यसका बारेमा धेरै लेखिसकेको छु ।

पहाडबाट तराई झर्नुहुँदैन भन्ने अभिप्राय हो तपाईंको ?

स्वेच्छाले आउनु एउटा कुरा हो । तर, मधेसमा पहाडीलाई राज्यले नियन्त्रितरुपमा लगेर बसाएको हो । महेन्द्रले गरेको पुनर्वासको इतिहास पढ्नुभएको छैन ?

राज्यले चाह्यो भने आफ्नो देशको भूभागभित्र नागरिकलाई आवश्यकता अनुसार जहाँ पनि बसोबास गराउन सक्दैन र ? यसमा किन आपत्ति ?

त्यसो भए एकजना मधेसीले पहाडमा भूमि वितरणमा जग्गा पाएको उदाहरण दिनुस् । नेपालमा सबैभन्दा धेरै सुकुम्वासी भनेका मुसहरहरु हुन् । कति हजार मुसहरले राज्यसत्ताबाट जग्गा पाएका छन् ? यो सिधासिधा नृजातीय राज्य हो । आफ्नो नृजातीयता अघि बढाउन मधेसलाई कब्जा गर्ने हिसाबले यो कदम चालिएको हो ।

त्यसोभए तराईबाट पनि लाखौं मानिसहरु काठमाडौं आएर बसिरहेका छन् । तपाईं आफैंले पनि काठमाडौंमा घर बनाउनुभएको छ । काठमाडौंवासीले कहिल्यै संकीर्ण सोच पालेका छैनन् त ?

मधेसीहरु यहाँ स्वेच्छाले आएका हुन् । स्वेच्छाले आउनु एउटा कुरा हो, राज्यले योजनावद्धरुपमा त्यो भूभाग कब्जा गर्नु अर्को कुरा हो । मधेसलाई सांस्कृतिकरुपमा कब्जा गर्ने राज्यको योजना छ ।

तपाईंले भनेजस्तो भए इजरायलले वेस्ट बैंकमा यहुदी बस्ती सार्दा किन आपत्तिजनक भयो ? विवादित भूभागमा जथाभावी नागरिकलाई स्थानान्तरण गर्न मिल्दैन ।

तराईंलाई पनि विवादित भूभाग भन्न खोज्नुभएको ?

विवादित त हो नि । म बच्चा हुँदा तराईमा १० प्रतिशत पहाडी थिए, अहिले ३० प्रतिशत पुगिसके ।

जनसंख्याको अनुपात फेरबदल हुँदैमा विवादित भूभागचाहिँ कसरी भयो त ?

भूगोल नेपालभित्र छ, त्यसमा शंका छैन । नेपाल राज्यभित्र दुई किसिमको नृजातीय समूह छ, एउटा नेपाली र अर्को मधेसी । त्यसमा तपाईंलाई शंका छ भने कुनै पनि मधेसी बस्तिमा जानुस् । जहाँ पनि नृजातीयरुपमा मधेसी र नेपाली विभाजित छन् । रोगै स्वीकार नगरी इलाज गर्नेतिर कसरी जान्छ ?

भनेपछि तराईमा पहाडबाट बसाइँ सराइ गर्न दिन भएन ?

तपाईंको प्रश्नमा नै पूर्वाग्रह छ ।

पूर्वाग्रह त तपाईंका उत्तरहरुमा पनि देखिरहेको छु …

पूर्वाग्रह भनेको बलियो नृजातीय समूहको हुन्छ । राज्य पनि तपाईंको छ, संस्कृति पनि तपाईंको छ । मेरो न राज्य छ, न संस्कृति छ । देशचाहिँ छ । राज्य, संस्कृति छैन । कमजोरको पूर्वाग्रह हुँदैन । तपाईं मालिक संस्कृतिको प्रतिनिधित्व गर्दै हुनुहुन्छ । मैले पहाडिया मधेसमा जानुहुँदैन भनेको छैन । तर, राज्य संरक्षितरुपमा जानुभएन ।

तपाईंले नेपालको संविधानलाई स्वीकार्नुभएको छ कि छैन ?

छैन ।

तपाईं मात्रै बाँकी हो संविधान स्वीकार्न ? अरु त सबैले स्वीकारिसके ।

यो प्रश्न होइन, पूर्वाग्रह हो । सबैभित्र को पर्छ ? यो बताउनुस् ।

स्वीकार नगरेको भनेको मधेसवादी शक्तिहरु थिए । तर, उनीहरु यही संविधानअन्तरगत चुनाव लडेर सरकारसमेत चलाइरहेका छन् । अब को बाँकी रह्यो त संविधान नस्वीकार्ने ?

शक्तिको अगाडि केही नलागेर स्वीकार गर्नु एउटा कुरा हो । १ लाख सेना, डेढ लाख प्रहरीका अगाडि हो कि होइन भन्दा हो भन्न कर लाग्छ । कसैले बन्दूक देखाएर रुख बांगो देख्छस् कि सीधा भनेर सोध्यो भने ज्यान माया नहुनेले मात्रै बांगो देख्छु भन्छ । त्यो भन्दैमा मानेको हुँदैन । शक्तिको प्रयोग भएको हो ।

मधेसका ८ वटा जिल्लालाई समेटेर २ नम्बर प्रदेश बनाइएको छ । त्यसमा मधेसवादी दलकै सरकार छ । त्यसले पनि तपाईंको चित्त बुझेको छैन ?

संघीयता मधेसीको भावनाअनुसार नै भएको छैन । प्रदेश २ भनेको त छुटेर जाने भए जा भनेर मालिकले आफ्नो घरभन्दा बाहिर सानो झुप्रो बनाइदिएको जस्तै हो ।

कतिपयले चाहिँ प्रदेश २ मा भारतले आफ्नो चलखेल बढाउन सक्ने आशंका गर्छन् । तपाईंले के देख्नुभएको छ ?

मेरो विचारमा यो प्रदेश २ छुटेर भारततिर जाओस् भनेर नै बनाइएको प्रदेश हो । अधिकार अधिकार मात्रै भन्छन्, भारतले लियो भने एउटा हेडेक नै सकिन्छ भनेर नेपालको वर्चश्ववादी समूहले छुट्याइदिएको हो ।

आफ्नै शरीरको एउटा अंग कसैले छुट्याउन चाहला र त्यसरी ?

वर्चश्वशाली समूहलाई एउटा अंग काटेर फाल्दैखेरि शरीर सफा हुन्छ भन्ने लागेको होला नि त ।

केही समयअघि भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा प्रदेश २ का मुख्यमन्त्रीले उहाँका अगाडि जसरी याचना गर्नुभयो, त्यसले यो प्रदेशको भविश्यबारे के संकेत गर्छ ?

त्यो याचना होइन । तपाईंको हरेक प्रश्नमा पूर्वाग्रह छ । त्यो त यथार्थको अभिव्यक्ति हो । मलाई दुख्यो भनेर छिमेकीसित भन्न नपाउने ? मानवअधिकार त विश्वव्यापी हुन्छ । यो अन्तर्राष्ट्रिय मुद्दा हो । जेनेभामा गएर मधेसका प्रतिनिधिले मानवअधिकार संघबाहिर प्रदर्शन गरेका होइनन् ?

त्यसो भए भारतले के गरिदिनुपर्‍यो त ?

अहिलेसम्म मधेसीहरुले भारतसँग आशा राखेर बिगार गरेका छन् । तर, भारतको स्वार्थ पहाडी समूहसँग जोडिएको छ । उसको सेनामा कति लाख पहाडी छन्, तर मधेसी एउटै छैनन् । राष्ट्रपतिको, प्रधानमन्त्रीको भान्से पनि पहाडी छन् ।

तर, भारतले त नेपालका मधेसीलाई आफ्नै मान्छ नि होइन र ?

त्यो भ्रम मात्र हो । मधेसी पनि यही भ्रममा परेर डुबेका हुन् ।

कतिपय अवस्थामा व्यवहारमै पनि भारतले मधेसका एजेन्डाहरु बोकेरै हिँडेको देखिन्छ नि ? जस्तो- संविधान जारी भएपछि मधेसी दलहरुको समर्थनमा नाकाबन्दी नै गर्‍यो… ।

तपाई सबै पूर्वाग्रहलाई प्रश्न बनाउँदै हुनुहुन्छ । कुन आधिकारिक व्यक्तिले भन्यो कि भारतले नाकाबन्दी गरेको हो ?

कसले गरेको त ?

नाकाबन्दी भएकै होइन । नाकाबन्दी भनेको प्राविधिक शब्द हो । जब कुनै नाका खुला हुँदैन, त्यसलाई नाकाबन्दी भनिन्छ । भारतले त सबै नाका बन्द गरेको थिएन । मधेसीको आन्दोलनले एकाध नाका प्रभावित भएका न हुन् । त्यो नाकाबन्दी नभएर नाकाकस्सी हो । नाका बन्द गरिएको नभएर नाका कसिएको मात्र हो । त्यसको पनि नैतिक जिम्मेवारी मधेसका राजनीतिकर्मीले लिइसकेपछि भारतलाई किन बीचमा पार्ने ?

तर, नाकाकस्सीबाट मधेसलाई फाइदा भन्दा नोक्सान भयो । पहाडीलाई त धेरै फरक परेन, किनकि तस्करीबाट पनि इन्धन आइरहेको थियो । तर, मधेसीको चुल्हो बलेन ।

त्यसो त तपाईं आफैं पनि नाकामा धर्ना दिन पुग्नुभएको हो क्यारे ?

जुन किसिमको संविधान बन्दै थियो, त्यसको विरोध गर्ने अर्को विकल्प नै बाँकी थिएन । नाकाकस्सी नभएको भए सेना प्रहरीले सैयौं मधेसी मार्थे । धेरै मधेसी मारिनबाट नाकाकस्सीले जोगाएको हो । मैले त्यसमा नैतिक ऐक्यवद्धता जनाएकै हुँ । हजारौं जनता सडकमा छन् भने म उनीहरुसँग गएर उभिनुपर्छ ।

मैले सरकारको होइन, नेपाली जनताको नून खाएको हुँ । नेपाली जनताबाट जति लिएको छु, त्योभन्दा बढी योगदान गर्न प्रयत्न गरेको छु । म सरकारको नोकर होइन

तपाईं मधेसका मुद्दाहरुको वकालत गर्नुहुन्छ । तर, भारतले गर्ने सीमा अतिक्रमण, डुबान समस्या, सीमा वारपार गर्दा हुने लुटपाट जस्ता मुद्दाहरुमा कहिल्यै कलम चलेको देखिँदैन भन्ने आरोप लाग्नेगर्छ । यी समस्याबाट बढी त मधेसी नै पीडित छन् । तर, किन बोल्नुहुन्न, लेख्नुहुन्न ?

नेपालमा मेरो प्रधानमन्त्री, राष्ट्रपति छ । एक लाख कर्मचारी छन् । सेना छन् । प्रहरी छन् । नेपालका सयजना बुद्धिजीवीमा ९० जना राष्ट्रवादीहरु हुनुहुन्छ । ती सबैले नगरेको काम एक्लो सिके लालले ठेक्का लिइदिनुपर्ने ?

तर, यस्ता विषयले तपाईंलाई बढी छुनुपर्ने हो भन्ने मेरो आशय…

मलाई छुन्छ । नलेखेको मात्र हो । यो राजनीतिक, कूटनीतिक मुद्दा उठाउने मूल जिम्मेवारी भनेको सरकार र राष्ट्रिय दलहरुको हो । सिके लालले नै किन लेख्नुपर्ने ? म मलाई लागेको बोल्छु ।

तपाईंलाई भारतपरस्तको आरोप पनि लाग्ने गर्छ । सायद यस्ता कुराहरुमा नबोलेको भएर पनि हो कि ?

कसले लगायो आरोप ?

सामाजिक सञ्जालमा ।

नेपालको कुनचाहिँ व्यक्ति भारतपरस्त छैन, त्यो बताउनुस् ।

तपाईं चाहिँ हो कि होइन ?

नेपालको हित भारतसँग जोडिएको छ । त्यो अर्थमा भारतपरस्त हुँ । एकै संस्कृति छ । जाने भनेको छिमेकीकहाँ हो । तर, मभन्दा बढी हाम्रो शक्तिमा हुनेहरु भारतपरस्ती गर्छन् । तिनका पाउमा लम्पसार पर्छन् । ती वर्चश्ववादी नृजातीय समुदायका छन् ।

भारतीय मिडियाले मधेसीहरुलाई ‘भारतीय मूलका नेपाली’ भनेर लेख्दा तपाईंहरुलाई कस्तो लाग्छ ?

उनीहरुले आफ्नो रगत ठानेका हुन सक्छन् । त्यसमा कुनै प्रतिक्रिया जनाइरहनु आवश्यक छैन । दार्जीलिङका भारतीयहरुलाई पनि त नेपाली मूलका भन्ने गरिन्छ ।

धेरै समयदेखि तपाईंका लेखहरु पृथ्वीनारायण शाह, राजा महेन्द्र र केपी ओलीलाई एक राउन्ड गाली नगरी पूरा हुँदैन भन्ने गरिन्छ । किन यति ठूलो वितृष्णा ?

मैले जिन्दगीमा कसैलाई गाली गरेको छैन ।

नरम भाषामा आलोचना भनौं न त ?

म यत्तिकै आलोचना गर्दिनँ । तर्कसहित आलोचना गर्छु । खड्गप्रसाद ओली मधेसविरोधी भएकाले बारम्बार मेरो निशानामा पर्छन् ।

लेखनमा भाषा पनि छुद्र हुन थालेको हो कि ?

मैले छुद्र भाषा प्रयोग गरेको देखाइदिनुस् । म बाहुन होइन, पुरेत होइन, छुद्र भाषा प्रयोग गर्नलाई । छुद्र भाषा त्यसलाई भन्छन्, जुन खड्ग प्रसाद ओलीले प्रयोग गर्नुहुन्छ ।

तपाईं पनि आफ्नो पहिलेको स्तरबाट त तल झर्नुभएको छैन ?

तपाईंको दृष्टिमा खसेको होला । धेरै पाठकको दृष्टिमा अग्लिएको पनि होला । तपाईं वर्चश्ववादी समूहको हुनुहुन्छ । यही प्रश्न सबैभन्दा अपहेलित मधेसीलाई गएर सोध्नुस् । उनीहरुले मलाई भन्छन्, पहिले कांग्रेसको मात्रै कुरा गर्नुहुन्थ्यो, अहिले हाम्रो बारेमा पनि लेख्न थाल्नुभएको छ ।

सरकारको पेन्सन खाने व्यक्तिले सरकारविरुद्ध तथानाम लेख्नुलाई नैतिकताको कसीमा पनि हेर्न थालिएको छ नि ?

राणाकालीन र पञ्चायती नैतिकताको कुरा नगर्नुस् । सरकार भनेको बदलिरहन्छ । देश पनि रहला नरहला । सिक्किम हिजो थियो, आज छैन । तिब्बत हिजो थियो, आज छैन । सत्यको सोझो गर्ने हो, सत्यको पक्ष लिने हो ।

तपाईंकै शब्दमा ‘मधेसविरोधी सरकार’ ले दिएको पेन्सन खान्न पनि त भन्न सक्नुहुन्थ्यो नि ?

त्यसो त बन्दुक उठाएर पनि जान सक्थेँ । मैले सरकारको होइन, नेपाली जनताको नून खाएको हुँ । नेपाली जनताबाट जति लिएको छु, त्योभन्दा बढी योगदान गर्न प्रयत्न गरेको छु । म सरकारको नोकर होइन ।

Read original article on onlinekhabar.com

Loading...

Arun Sah Web Hosting