Latest News from Terai Madhesh

श्रीलंकामा साम्प्रदायिक हिंसा

कोलम्बो (एजेन्सी) । श्रीलंकामा भएका श्रृंखलावद्ध बम विष्फोटका घटनाका कारण त्यहाँ साम्प्रदायिक झडपहरु भएका छन् । चर्च र होटलहरुमा भएका बम विष्फोटमा कम्तिमा २५३ जना मारिएका थिए ।

त्यसयता श्रीलंकमा मुस्लिम समुदायमाथि हिंसाका घटनाहरु बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मुस्लिम समुदायविरुद्ध हिंसा फैलिएपछि सोमबार देशभरि नै रात्रिकालीन निषेधाज्ञा जारी गरिएको छ । स्थानीय समयानुसार सोमबार राति ९ बजेदेखि सात घण्टाका लागि कर्फ्यू लगाइएको थियो । धेरै ठाउँमा निषेधाज्ञा हटाइएको भए पनि पश्चिमोत्तर प्रान्तमा भने अर्को सूचना प्रकाशित नभएसम्म कर्फ्यू कायम राखिएको छ ।

हिंसामा मस्जिद तथा मुस्लिमहरूका पसललाई तारो बनाइएको थियो । प्रहरीका अनुसार कम्तीमा एक जनाको मृत्यु भएको थियो। सोमबार विभिन्न सहरमा दंगा गर्न खोज्नेहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यासको प्रयोग गरेको तथा हावामा गोली हानेको थियो । टेलिभिजनमा प्रसारित सम्बोधनमा प्रहरी प्रमुख चन्दन विक्रमरत्नले दङ्गा गर्न खोज्नेविरुद्ध ‘अधिकतम बल’ प्रयोग गरिने चेतावनी दिएका छन् । अहिलेको अस्थिरताले गत महिना भएको उक्त घटनाको अनुसन्धानलाई प्रभाव पारेको भन्दै प्रधानमन्त्री रनिल विक्रमसिङ्घले सबैलाई शान्त रहन आग्रह गरेका छन् ।

इस्टरमा भएको घटनापछि सम्भावित प्रत्याक्रमण हुन नदिन सुरक्षाकर्मीहरू सफल भएको सरकारी पक्षको दाबी छ ।

हिंसाका क्रममा पश्चिमोत्तर नगर किनियामास्थित एउटा मस्जिदका झ्याल तथा ढोकामा तोडफोड भएको थियो । आक्रमणकारीहरूले मस्जिदमा भएका इस्लामिक धर्मग्रन्थ कुरानका पुस्तकहरू फालिदिएका थिए । समाचारसंस्था रोयटर्सका अनुसार सेनाले नजिकै रहेको एउटा पोखरीमा हतियार रहेको आशङ्कामा खोजी गरेपछि एउटा समूहले मस्जिदमा पनि खोजी गर्न माग राख्दै अरूलाई उत्तेजित पारेका थिए । इसाईहरूको बाहुल्य रहेको चिल नगरमा फेसबुकमा विवाद सुरु भएपछि र मस्जिद तथा मुस्लिम समुदायका मानिसले सञ्चालन गरेका पसलहरूलाई तारो बनाइएको प्रहरीले जनाएको छ । हिंसा फैलाउनेगरी फेसबुकमा विवादास्पद कुरा लेख्ने एक मुस्लिम व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । पुट्टलम जिल्लामा एउटा भिडले आक्रमण गरी धारिलो हतियार प्रहार गर्दा एक व्यक्तिको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरूले हिंसा नियन्त्रण गर्न उद्देश्यले फेसबुक र ह्वाट्सएपजस्ता सामाजिक सञ्जाललाई बन्द गराएका छन् । ट्विटरमा एउटा सन्देश लेख्दै प्रधानमन्त्री विक्रमसिङ्घले मिथ्या सूचनाबाट उत्तेजित नहुन तथा शान्त रहन सर्वसाधारणलाई आह्वान गरेका छन् । उनले लेखेका छन्, ‘आतङ्कवादीलाई समात्न तथा देशको सुरक्षा सुनिश्चित गर्न सुरक्षाकर्मीहरू थकाइ नमानी काम गरिरहेका छन् ।’ हेट्टिपोला नगरमा पनि केही आक्रमणका घटना भएको बताइएको छ । त्यहाँ केही पसलमा आगो लगाइएको थियो ।

सन् २००९ मा गृहयुद्ध समाप्त भएपछि श्रीलङ्कामा केही छिटपुट हिंसाका घटनाहरू हुने गरेका थिए । अल्पसंख्यक तमिलहरूका लागि छुट्टै राज्य माग गर्दै २६ वर्ष युद्ध गरेको तमिल टाइगर्सलाई सरकारी फौजले हराएपछि त्यहाँको गृहयुद्ध सकिएको थियो । उक्त गृहयुद्धमा ७० हजार देखि ८० हजार मानिसहरू मारिएको ठानिन्छ । श्रीलंकामा कुल जनसंख्या दुई करोड २० लाख छ । ७० प्रतिशतभन्दा बढी जनसंख्याले बौद्ध धर्म मान्छ । देशको कानुनमा पनि उनीहरूलाई प्राथमिकता दिइएको छ र संविधानमा पनि विशेषाधिकार दिइएको छ । त्यहाँ १२.६ प्रतिशत हिन्दू र झन्डै १० प्रतिशत मुस्लिम जनसंख्या रहेको छ । सन् २०१२ को जनगणना अनुसार त्यहाँ करिब १५ लाख इसाईहरू रहेका छन् । त्यसमध्ये अधिकांश रोमन क्याथोलिक सम्प्रदायका हुन् ।

यसअघि पनि बौद्ध धर्म मान्ने सिन्हला समुदायका मानिसहरूले मस्जिद तथा मुस्लिमहरूको स्वामित्व रहेका सम्पत्तिमा आक्रमण गर्ने गरेका थिए । बौद्ध र मुस्लिम समुदाबीच हिंसा चर्किँदा गत वर्ष मार्चमा त्यहाँ राष्ट्रिय संकटकाल घोषणा भएको थियो ।

Read original article on dcnepal.com

Loading...

Arun Sah Web Hosting