मुख्य समाचारराजनीतिसप्तरी समाचार

प्रदेश २ का मन्त्रीको चेतावनीः केन्द्र सरकारले बेइमानी गरे कर दिन्नौं

'ठोरी काँक्रो होइन, जो काटेर दिन्छौं'

सप्तरी । प्रदेश २ मा एक मन्त्रीले केन्द्र सरकारलाई पूर्वाग्रही नहुन खबरदारी गरेका छन् । नभए प्रदेशमा उठेको कर केन्द्रमा नपठाउने उनको चेतावनी छ ।

केन्द्रसँग ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार छ तर, प्रदेश २ मा मधेसी दलहरु मिलेर सरकार बनाएका छन् । राजपा नेता समेत रहेका प्रदेश २ का भौतिक योजना मन्त्री जितेन्द्र सोनलले सार्वजनिक रुपमै केन्द्र सरकारप्रति असन्तुष्टि जनाएका छन् ।

हामी माग्दैनौं, हेर्छौं

प्रदेशका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले संवैधानिक अधिकार प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । उनले संविधान अनुसार प्रदेशलाई पनि राम्रो बजेट आउने विश्वास व्यक्त गर्दै भने, ‘हामी मगन्ते होइनौं, त्यसैले माग्दैनौं । हामी हेर्छौं दिएन भने अर्काे बाटो अबलम्बन गर्छौं ।’

मधेसी पत्रकार समाजको प्रादेशिक भेलालाई शनिबार जनकपुरमा उद्घाटन गर्दै मन्त्री सोनलले केन्द्रीय सरकारले प्रदेशसँग बेइमानी गरेमा एउटा कर केन्द्रमा जान नदिने बताए । ‘हामीलाई हेप्न खोजे कुनै कर दिन्नौं’ उनले भने, ‘हामी प्रदेश प्रहरी स्थापना गरी प्रहरीलाई नै कर संकलन गर्न खटाउँछौं ।’

साइकलमा चढेर काम गर्न तयार छौं

राजपा नेता समेत रहेका प्रदेश २ का मन्त्री सोनलले मधेसको जनताका कारण आएको संघीयता खेर जान नदिने बताए । ‘अहिले केन्द्रलाई अवसर दिएका छौं’ उनले भने, ‘यो अवसरमा प्रदेशका लागि नसोचिदिए हामी आफ्नै तरिकाले काम गर्छौं ।’

केन्द्रले गाडी नपठाए साइकलमा चढेर भएपनि काम गर्ने र संघीयतालाई कार्यान्वयन गर्ने उनले बताए ।

ठोरी काँक्रो होइन, जो काटेर दिन्छौं

मन्त्री सोनलले अर्काे प्रदेशका मुख्ख्यमन्त्री यो प्रदेशमा आएर जनतालाई तोड्न लगाएको बताए । प्रदेश ३ का मुख्ख्यमन्त्री डोरमणी पौडेलप्रति इंगित गर्दै उनले भने, जसरी ठोरीलाई ३ नम्बर प्रदेशमा गाभ्ने प्रतिबद्धता व्यक्त गरिएको छ, त्यसलाई कुनै हालतमा कार्यान्वयन हुन दिन्नौं ।’

प्रदेश २ लाई ठूलो बनाउने आफूहरुको इच्छा रहेको भन्दै उन प्रदेशलाई कुनै पनि हालतमा टुक्रिन नदिने बताए । ‘ठोरी कुनै काँक्रो होइन, जो काटेर कसैलाई दिने हो’ उनले भने ।

उपेन्द्र यादवले पनि दिए चेतावनी

शनिबार नै सप्तरीमा भएको एका कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ लाई हेर्ने काठमाडौंको आँखा धेरै पूर्वाग्रही रहेको बताए ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवले प्रदेशको विकासका लागि केन्द्र सरकारले पर्याप्त बजेट नदिए केन्द्र सरकारलाई प्रदेशबाट राजस्व जान नदिने चेतावनी दिए । प्रदेशलाई अधिकार र साधन श्रोतविहीन बनाउने षड्यन्त्र भइरहेको भन्दै उनले त्यसविरुद्ध आफूहरुले संघर्ष जारी राख्ने बताए । अनलाईनखबर

Tags
Back to top button
Close