लेख / बिचार

एमाओबादीको महाधिबेशन संदेश

सुभाषप्रसाद साह

subhashएकिकृत नेकपा माओबादीले भनेको एकताको सातौं राष्ट्रिय महाधिबेशन सम्पन्न भएको छ । औधोगिक नगरी हेटौडामा सम्पन्न सो महाधिबेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ । पहिचान सहितको संघियता, संघियता सहितको संबिधान र संबिधान सभाबाटै संबिधान भन्ने मुल नाराका साथ सम्पन्न सो अधिबेशनमा बिभिन्न बिषयमा प्रतिनिधिहरुबीच छलफल गर्दै सम्पन्न भएको हो । अधिबेशनले बिभिन्न बिषयमा छलफल गरी बिभिन्न निर्णय गरे पनि त्यो कतिको आम नेपालीको हितमा छ व छैनन् भन्ने मुल कुरो हो । एमाओबादीले एकताको नाम दिएर अधिबेशन सम्पन्न गरेपनि सोही पार्टीमा रहेर १० बर्षे जनयुद्ध गरेको मोहन बैधहरुको एउटा छुटै पार्टी नेकपा– माओबादी समेत गठन भएर त्यसको पनि अघिबेशन केही समय पहिले भईसेको छ । पार्टीको केन्द्रीय कमिटी बनाउँने हिसाबमा मुख्य रुपमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्षद्धय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तीन गुटको नेताहरुको प्यानल हाबी भएको थियो । मुख्य रुपमा सो अधिबेशनको संदेश के हो त्यो चर्चाको बिषय भएको छ ।

लेन्डुप दोर्जी प्रबृति
सिक्किमलाई भारतमा बिलय गराउँनको लागि नायककोरुपमा रहेका व्यक्ति हुन लेन्डुप दोर्जी । आम नेपालीले काजी लेन्डुप दोजीलाई सिक्किम बेच्ने व्यापारीको रुपमा लिने गर्छन् । अर्थात लेन्डुप दोर्जी सिक्किमलाई भारतमा बिलय गराउँने भारतको प्रिय पात्रको रुपमा देखिन्छ । लेन्डुप दोर्जी सिक्कमलाई भारतमा मिलाउँनको लागि जनमत संग्रह गराएकाले उनलाई राष्ट्रभक्त नेपालीले मन पराउँदैनन् । ठिक त्यसैगरी नेपाल भारतको सिमाको समस्यालाई समाधान गर्न एमाओबादीको महाधिबेशनले जनमत संग्रह गर्नुपर्छ भनेको छ । एमाओबादीका अध्यक्ष प्रचण्डले ल्याएको यो प्रस्तावमा उपाध्यक्षद्धय नारायणकाजी श्रेष्ठ र डा. बाबुराम भट्टराईका साथै केहीले समर्थन जनाएका छन् । तर अधिकांश प्रतिनिधिले यस्तो प्रस्तावको बिरोध गरेका छन् । यस हिसाबले बिरोध गर्ने ति प्रतिनिधिमा राष्ट्रको प्रेम झल्किन्छ । राष्ट्रलाई जोगाउँन अर्थात सिक्किमीकरणबाट बचाउँन प्रतिनिधिहरुले बिरोध गरेकोमा उनीहरु बधाईका पात्र छन् । तर राष्ट्रभक्तिको नारा लागाई राख्ने प्रचण्ड, भट्टराई, श्रेष्ठ लगायतका नेताहरुमा सिक्किमलाई भारतमा मिलाउँने लेन्डुप दोर्जीको जुन भारतीय मोह थियो त्यही मोह र माया यिनीहरुमा समेत देखिएको छ । प्रचण्डको सो प्रस्तावले यही कुराको प्रमाणित गरेको छ । सिक्किमलाई भारतमा मिलाएकोमा लेन्डुप दोर्जीलाई भारत सरकारले पदमभूषण प्रदान गरेको छ । त्यसैले प्रचण्ड, भट्टराई, श्रेष्ठ लगायतले भारतको आर्शिबाद, माया ममता पाउँनको लागि यस्तो प्रस्ताव बिरोधका बाबजुद पनि पास गराउँन सफल भएका हुन् । भारतलाई आफ्नो पक्षमा पार्नको लागि प्रचण्डले यस्तो प्रस्ताव ल्याएर प्रचण्डलाई फाईदा त हुन्छ तर आम नेपालीले सिक्किमबासीले भोगेको दुख भोग्न बाध्य हुनुपर्छ । नेपालको राष्ट्रियता बिरोधी यस्तो प्रस्ताव ल्याएर प्रचण्ड आत्मसन्तुष्टि भएको भएपनि आम नेपालीका साथै स्वयम एमाओबादी नै सन्तुष्ट छैनन् ।

एमालेकरण भयो एमाओबादी

नेकपा एमालेको बुटवलमा सम्पन्न आठौं महाधिबेशनले आफ्नो दस्ताबेजमा समाबेश गरेको बिभिन्न निर्णयहरुलाई एमाओबादीको महाधिबेशनले समेत अनुशरण गरेको छ । एमालेले नेपाली क्रान्तिका सिद्धान्तलाई लेलिन र माओका सिद्धान्तभित्र कैद गर्न नहुने तर्क गर्दै क्रान्तिका नयाँ सिद्धान्त बिकसित गर्नुपर्ने आवश्यक्ता औल्याएको थियो । त्यसका आधारमा एमालेले नेपाली समाज अर्धसामन्ती–अर्धऔपनिबेशिक होइन, बरु दलाल पुँजीबादी हो । हाम्रो समाजका बर्गहरु माओले व्याख्या गरेको चीनका बर्गभन्दा फरक छन् । २०६२÷०६३ को क्रान्ति नेपालको सन्दर्भमा नयाँ जनबादी वा जनताको बहुदलीय क्रान्ति हो, त्यसैले नेपालको पुँजीबादी–जनबादी क्रान्ति राजनीतिक रुपले सम्पन्न भइसकेको छ । त्यसैले अब नेपालमा अर्को कुनै नयाँ जनबादी वा बहुदलीय जनबादी क्रान्ति हुदैन, अब कम्युनिष्ट पार्टीले आफूलाई उत्पादनसंग गाँसेर राष्ट्रिय पुँजीको बिकास गर्दै समाजबादको तयारी गर्ने काममा लगाउनुपर्छ भन्ने निष्कर्षहरु अगाडि सारिसकेको छ । एमालेले अन्य पार्टीहरुसंग लोकतान्त्रिक प्रतिस्पर्धा गर्दै कसरी समाजबादसम्म जान सक्छ भन्ने कार्यक्रम अगाडि सारेको हो । यसर्थ एमाओबादी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिबेदनमा नयाँ भनिएका मुल बिषयबस्तु केही छैन, त्यो त एमालेको सम्पन्न बुटवलको आठौं महाधिबेशको दस्ताबेजमा आधारित रहेको छ । प्रचण्डको प्रतिबेदन भन्दा नेपाली समाजको सामाजिक–आर्थिक चरित्र, बर्ग बिश्लेषण र समाजबादी क्रान्तिको अध्ययन र तर्कसङ्गत ढंगबाट एमालेले आफ्नो दस्ताबेजमा समाबेश गरेको छ । त्यसैले प्रचण्डको कथित मौलिक दाबी क्रान्तिका मोडलहरुको पुनराबृति र यान्त्रिक नक्कलबाट सम्भव नहुने भएकोले पार्टीले जनबादी क्रान्तिलाई पुर्णता दिन र समाजबादी क्रान्तिको तयारी गर्न मौलिक तयारी गर्न कार्यनीतिको बिकाश गर्न जरुरी छ भन्ने भनाईमा कुनै मौलिकता छैन् । प्रचण्डको प्रस्ताव जुन महाधिबेशनबाट पारित भयो त्यो एमालेको दस्ताबेजमा आधारित रहेको छ । प्रचण्डले एमालेको बिचारलाई अनुशरण गर्दै आफ्नो प्रतिबेदनमा केवल एमाओबादीको नक्कली छाप मात्र लगाएका छन् । एमाओबादीको नक्कली स्टीकर टासेर प्रचण्डले एमालेको दस्ताबेज पढेका मात्रै हुन् ।

पत्रकारमाथि लाल आतंक
सोझासाझा नेपालीलाई डराईधम्क्याई आफ्नो बसमा पार्न सकिन्छ भन्ने एमाओबादीको बुझाई रहेको छ । त्यसैले एमाओबादीको लाल आतंकले पत्रकारहरु पीडित भएर आन्दोलन गर्नुपर्यो । एमाओबादीले पत्रकारलाई बसमा गर्न सफल भयो भने अरु नेपालीलाई सजिलै आफ्नो बसमा पार्न सकिन्छ भन्ने बुझेको छ । त्यसैले बुद्धिजिवि भनिने प्रधानमन्त्री समेत रहेका एमाओबादी उपाध्यक्ष डा.बाबुराम भट्टराईले दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई कारवाही नगर्न र पत्रकार थापाका हत्यारालाई कारवाही गर्नैपर्ने माग गर्ने पत्रकार लगायतलाई तर्साउँने काम निरन्तर गरिरहेका थिए । आपराधिलाई बचाउँने संरक्षण गर्ने, भ्रष्टाचार गर्ने गराउँने, शुसाशनको नाममा कुशासनको थालनि गर्ने काम प्रधानमन्त्रीको कुर्सीमा बसेर बाबुराम भट्टराईले निरन्तर गरिरहेका छन् । र यस्ता भ्रष्ट, आपराधिका नायिकेको बिरोधमा आम नेपाली भन्दा पहिला पत्रकारहरु लागेको कारण उनको कर्तुत सार्वजनिक हुने भएकोले प्रधानमन्त्रीको पदमा बसेर पत्रकारमाथि लाल आतंक मचाउँने काम भईरहयो । एमाओबादी भित्रको संस्थागत भ्रष्टाचारको बारेमा बनेको आयोगलाई पनि महाधिबेशन भित्र दबाएर राखियो । भ्रष्टहरुलाई कारवाही गर्नुको साटो उनीहरुलाई प्रोत्साहन गर्ने काम महाधिबेशनले गरेको छ । यस्ता कुराको बारेमा आम नेपालीलाई पत्रकारिताको माध्यमले जानकारी गराउँने पत्रकारमाथि एमाओबादीले लाल आंतक मचाएर स्वच्छ बन्न खोजेको छ ।

र अन्त्यमा
एमाओबादीले बारम्बार पुनः जनयुद्धमा फकिर्ने दिने धम्कीको महाधिबेशनबाटै अन्त्य भएको कुरा राम्रो हो । युद्धको धम्की देखाईरहने एमाओबादी अब दलिय प्रतिस्पर्धालाई स्वीकारि सकेको प्रष्ट भएको छ । अर्थात एमालेले स्वीकार गरेको जनताको बहुदलिय जबाद नै एमाओबादीले पुर्णरुपमा स्वीकार गरि अघि बढने उदघोष गरिसकेको छ । कम्युनिष्टको खोल ओढेर क्रान्तिको नाममा रक्तक्रान्ति गर्ने काम ठिक होईन भन्ने कुरा एमाओबादीले राम्रोसंग बुझेको छ । एकताको नामकरण गरेर एकता महाधिबेशन गर्न सफल भएको भनिए पनि त्यसमा एमाओबादी असफल भएको छ । किनभने संगै एउटै पार्टीमा बसेर जनयुद्ध गर्ने मोहन बैध लगायत अधिकांश नेताहरु नेकपा माओबादीको पार्टी बनाएर अधिबेशन गरिसकेका छन् । र उनीहरु यस महाधिबेशनमा सहभागि भएनन् । संबिधान सभाको निर्वाचनमा सबैभन्दा ठुल्लो पार्टीको रुपमा रहेको एमाओबादी उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री समेत रहेको बेला संबिधान बनाउँने कार्यलाई पुरा गर्नुपर्नेमा एमाओबादीले नै सडयन्त्र गरी शाही शैलिमा मध्यरातमा संबिधान सभाको बिघटन गराएको छ । तर पनि आम नेपालीलाई ढाटनको लागि मात्र पहिचान सहितको संघियता, संघियता सहितको संबिधान र संबिधान सभाबाटै संबिधान भन्ने नारा महाधिबेशनमा सस्तो लोकप्रियताको लागि प्रचारबाजी गरेको छ । संबिधान सभाको सबैभन्दा ठुल्लो पार्टीको हैसियतले एमाओबादीले संबिधान दिनुभन्दा पनि महाधिबेशनमा प्रचारबाजी गर्यो । राज्यलाई संकटमा लैजाने मुख्य दोषीको रुपमा एमाओबादी भए पनि सधै नयाँ नयाँ प्रस्ताव ल्याएर नेपाली राजनीतिको हल्लो अडकाउँने काम गर्नमा सिपालु रहेको छ । यस्तै सत्तालाई टिकाईरहनको लागि नयाँ फर्मुलाको रुपमा बहालवाला प्रधानन्यायधिशको नेतृत्वमा चुनावी सरकार बनाउँने घोषण नै गर्यो ।

spsah.subhash@gmail.com  लेखक प्रेस चौतारी नेपाल, बाराका अध्यक्ष हुन् ।

Back to top button
Close