साहित्य

हाल बेहाल नेपालको (कबिता)– संजु बाबा मोची

चार वर्ण छतीस जातको, थियो यो साझा फुलवारी ।
भोकै र नाङ्गै रोइरहेछन्, अब यहाका नरनारी ।।
मुखको बोली बन्दुको गोली, फर्केर फेरी आउदैन ।
भए म विधवा नेपाली आमा, सिन्दुर र पोते लाउँदिन ।।४।।

मरेर गए ती बीर कहाँ, जहाँ भए फेरि फर्काइदिनु ।
गर्नेलाई गल्ति नेपाली आमा, बनेर चण्डी थर्काइ दिनु ।।
हत्या र हिंसा भगाई टाढा, शान्तिको पुनः वृक्ष लगाऊ ।
बनेर बुद्ध ज्ञानको फेरी, मिलेर सबै ज्योत जलाऊ ।।८।।

साधुको भेषमा लुकेको दानव, रक्षा गर्छन अब कसो ।
के हुन्छ हालत देशको सोचौं, भइरहन्छ जब यसो ।।
शितको थोपा जस्तो यो मुलुक, रंग मिसाउने कर्मचारी ।
लगाई दिए घुसको बजार, बढाई रहेछन भ्रष्टाचारी ।।१२।।

निती र नियम बनाउने व्यक्ति, नियम विरुद्ध उभेको छ ।
विच बाटोमा घुम्दछ पापी, सजन डराएर लुकेको छ ।।
शिष्टाचार विना छ मान्छे, अपमान सहनु परेको छ ।
हेर्नको लागि रुख छ मात्र, पात सबै झरेको छ ।।१६।।

सुन्दर थियो यो देश हामो, मुसाले अब टुक्रयाएछ ।
धर्म सबै भगाई टाढा, अधर्मलाई भित्रायछ ।।
मान सम्मान घटेर गयो, बढेर आयो क्रान्ति अब ।
पर्खि बसे नेपालीहरु, देशमा आउँछ शान्ति कब ।।२०।।

सन्जु बाबा मोची

Back to top button
Close