खेल समाचार

यी हुन् टी-२० विश्वकपका लागि छनोट भएका ६ देश

अष्ट्रेलियामा सन् २०२० मा हुने टी-२० विश्वकप क्रिकेटका लागि ग्लोबल छनोटबाट जाने बिभिन्न ६ राष्ट्रको टुंगो लागेको छ ।

बुधबार राति ओमानले हङकङलाई १२ रनले पराजित गरेसँगै विश्वकपमा प्रवेश गरेका ६ राष्ट्रका टिमको टुंगो लागेको हो । विश्वकपमा पुग्ने राष्ट्रहरुमा टेष्ट राष्ट्र आयरल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, पपुवा न्युगिनी, स्कटल्यान्ड र ओमान रहेका छन् ।

पपुवा न्युगिनी समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट हुँदा यता आयरल्यान्ड पनि समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएका हुन् । त्यस्तै, सेमिफाइनलको प्लेअफमा नेदरल्यान्ड्सले आयोजक यूएईलाई पराजित गर्दै विश्वकपमा प्रवेश गर्दा नामिबियाले ओमानलाई पराजित गर्दै विश्वकपमा प्रवेश गरेको थियो ।

पाँचौं स्थानको लागि भएको खेलमा स्कटल्यान्डले यूएईलाई पराजित गर्दै विश्वकपमा पुग्दा ओमानले पनि हङकङलाई पराजित गर्दै दोस्रो पल्ट विश्वकप खेल्ने भएको हो ।

बलियो टिम मानिएको हङकङ र यूएई भने यो पटक विश्वकपमा पुग्न सकेनन् । अब फाइनल प्रवेशका लागि आयरल्यान्डले नेदरल्यान्ड्ससँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा अर्को खेलमा पपुवा न्युगिनीले नामिबियासँग खेल्नेछ । पाँचौं स्थानका लागि भने स्कटल्यान्ड र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

Back to top button
Close