मुख्य समाचारराजनीति
ट्रेन्डिङ्ग

नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्धय ओली र दाहालको प्रतिबेदनलाई काउण्टर दिदै गौतमले प्रस्तुत गरे फरक प्रतिबेदन

सुभाष साह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकता भए पनि अझै मन भिन्नता कायमै रहेको स्वीकार गरेका छन् ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबारदेखी शुरु भएको स्थायी कमिटीमा अध्यक्षद्धय ओली र दाहालले संयुक्त रुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमा मन भिन्नता रहेको स्वीकार गरेका छन् ।

‘निर्वाचनमा सहकार्य र पार्टी एकताको ऐतिहासिक घोषणासंगै पार्टीमा आम रुपमा वैचारिक स्पष्टता र भावनात्मक निकटता कायम भएको छ । तर पनि दुई भिन्नभिन्न पृष्टभूमी, अलग–अलग स्कुलिङ र छुटै कार्यशैलीका कारण अझै पनि केही भिन्नता वाँकी नै छन् ।’ अध्यक्षद्धयले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।

तत्तकालिन एमाले र माओवादी केन्द्रका बीचमा बनेको नेकपामा रहेको मन भिन्नतालाई मेटाउन वैचारिक एकरुपता र भावनात्मक घनिष्टता कायम गर्ने बिषयमा थप प्रयत्न गर्नु आवश्यक रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

साविकका दुवै पार्टीमा विभिन्न रुप र स्तरमा वैचारिक उपलब्धि, संगठनात्मक व्यवस्थापन, उर्जा, परिपक्कता, जनअनुमोदन, गतिशिलता र जुझारुपन जस्ता वेग्लावेग्लै बिशेषताहरु रहेको र त्यसका उपलब्धिलाई कम्युनिष्ट आन्दोलनका महत्वपुर्ण उपलब्धि भएकाले संस्थागत गर्दै लैजानुपर्ने हुन्छ ।

बैचारिक र भावनात्मक एकतालाई खँदिलो बनाउँदै पार्टी एकतासंगै भित्रिएका कमीकमजोरीलाई अन्त्य गर्ने तथा उपलब्धिलाई अंगाल्दै अगाडी बढनुपर्ने अध्यक्षद्धय ओली र दाहालले स्वीकार गरेका छन् ।

रतिभरी बिलम्ब नगरी एकिकरण टुंगो लगाउँने

पार्टी एकता भए पनि तल्लो तहसम्म एकिकरणको टुंगो नलाग्दा बैचारिक एवं संगठानिक बिषय अलमलमा परेको भन्दै आरोप लाग्दै गर्दा प्रतिबेदनमा त्यसलाई पनि स्वीकार गरिएको छ । आधारभुत तहसम्म पार्टी र जनवर्गीय संगठनहरुको एकिकरणको काम पुर्ण हुन नसक्दा पार्टी एकिकरणबाट सिर्जित उत्साह र उर्जालाई जनताका बीचमा स्थापित गर्न ढिलाई भएको अध्यक्षद्धयले स्वीकार गरेका छन् ।

पार्टी एकिकरणको प्रक्रिया टुंगो नलाग्दा बिभिन्न शक्तिले लाभ उठाउँदै संविधान, पार्टी र सरकारका बिरुद्धमा क्रियाशिल रहेकाले रतिभरी बिलम्ब नगरी बाँकी रहेका सबै तहमा पार्टी कमिटी, निकाय, जनवर्गीय संगठतको एकिकरण सम्पन्न गर्दै नयाँ उत्साह र उर्जाका साथ जनताका बीचमा जाने प्रतिबद्धता उनीहरुले गरेका छन् ।

बैठक ढिलासुस्ती भएको स्वीकार

नेकपाको बैठक नियमित हुन नसकेकोमा प्रतिबेदनमा अध्यक्षद्धयले ढिलासुस्ती भएको स्वीकार गरेका छन् । बैठक नियमित हुनुपर्छ भन्दै सकेसम्म फारकिलो दायराबाट निर्णयहरु हुनुपर्ने भन्ने कुरामा कुनै द्धिविधा हनु नसक्ने जनाएका छन् ।

तर पार्टी एकिकरण प्रक्रियाको यो बिशिष्ठ अवस्था, पार्टीले सरकारको नेतृत्व गरिरहेको सन्दर्भ र राज्यका कतिपय अपरिहार्य दायित्वमा व्यस्त हुनुपर्ने कारणहरुले गर्दा वैठकको आयोजनामा यदाकदा हुन सक्ने बिलम्बलाई मनशायसंग जोडेर नकारात्मक टिप्पणी गर्नु उचित नभएको जिकिर अध्यक्षद्धयले प्रतिबेदनमा उल्लेख गरेका छन् ।

साथै बैठक नियमित, छलफल एवं निर्णयकै आधारमा अगाडी बढने प्रतिबद्धता समेत प्रतिबेदनमा व्यक्त गरेका छन् । अबका अगामी दिनमा नियमित बैठक बस्ने, निर्णय एवं छलफलकै आधारमा अगाडी बढने प्रतिबद्धता अध्यक्षद्धयले व्यक्त गरेका छन् ।

नेकपा सचिवालय आकारमा सानो भएको हुनाले त्यसले निर्णय गर्न नसक्ने वा नपाउँने होईन् । बिधानतः राजनीतिक र संगाठनात्मक निर्णय गर्ने अधिकार सचिवालयलाई रहेको प्रतिबेदनमा अध्यक्षद्धयले उल्लेख गरेका छन् ।

सबैले स्पष्ट हुनुपर्छ भन्दै प्रतिबेदनमा अध्यक्षद्धयले ‘यो सचिवालय कुनै नेता, प्रधानमन्त्री या मन्त्रीको निजि सचिवालय जस्तो होइन, यो पार्टीको मुख्य नेतृत्व हो । सचिवालयले त्यसै गरी काम गरेको छ र गर्दै जानुपर्छ ।’

प्रतिबेदनमा अध्यक्षद्धय ओली र दाहालले यस्तो दावी गर्दै गर्दा स्थायी कमिटीका सदस्यहरुले त्यस्तो अधिकार नभएको र सचिवालयले गर्ने राजनीतिक निर्णय स्थायी कमिटीबाटै गर्नुपर्ने माग गर्दै आएका छन् । सो बिषय बैठकमा समेत उठाउँने उनीहरुले यसअघि बताएका थिए

यस्तो छ सरकारको उपलब्धि

सरकार गठन भएको नौ महिना अवधिमा वृहत्तर राजनीतिक समती निर्माण, मुलुकको वाह्य सम्बन्धमा सुधार, अर्थतन्त्रको सुदृढीकरण, सार्वजनिक प्रशासनको उचित व्यवस्थापन, तीनै तहका सरकारहरुको सञ्चालन, कानुन निर्माण र संविधानको कार्यान्वयन तथा विसंगति नियन्त्रणमा महत्वपुर्ण उपलब्धि हासिल भएका छन् ।

यातायात क्षेत्रमा लामो समयदेखी बिद्यमान सिण्डिकेटको अन्त्य गर्दै स्वस्थ व्यवसायिक प्रतिस्पर्धा र मुल्य तिरेपछि गुणस्तरीय सेवा पाउँने उपभोक्ताको हकलाई प्रत्याभुत गरिएको दावी प्रतिबेदनमा उल्लेख गरिएको छ ।

नेपाललाई सुन तस्करीको ट्रान्जिटको रुपमा प्रयोग गर्दै आएको तस्करीको जालोमाथि प्रहार गरिएको दावी प्रतिबेदनमा अध्यक्षद्धयले गरेको छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सरकारले उपलब्धि गरिरहेको र अझै थप उपलब्धि हासिल गर्ने तर्फ उन्मुख रहेको जनाएका छन् ।

विदेशमा बसेर नेपालमा अपराध, फिरौती, धम्की र हत्याको शृङ्खला चलाईरहेका कतिपय आपराधिक गिरोहहरु नियन्त्रणमा आएको दावी गरिएको छ । अर्थतन्त्र सही वाटोमा फर्किएको छ । थप उपलब्धि हासिल गर्न तथा समस्याको पुर्ण समाधानका लागि सरकार अझै जोडदार रुपमा लागेको छ ।

यतिबेला आफ्नो स्वास्र्थ बैधानिक, कानुनी रुपमा प्राप्त हुन नसक्ने शक्ति कुनै न कुनै हिसाबले सक्रिय भई अस्थिरता सृजना गर्ने, सामाजिक सदभाव खल्बल्याउँने, सामुदायिक बिद्धेष फैलाउँने, सरकार बिरुद्ध भ्रामक प्रचार गर्ने र जनताका गुनासालाई असन्तुष्टिमा र असन्तुष्टिलाई अशान्तिमा रुपान्तरित गर्न योजनावद्ध ढङ्गले लागिरहेका छन् । यि प्रवृतिहरुको सुक्ष्म पहिचान, बिश्लेषण र सामना गर्दै अगाडी बढन आवश्यक रहेको छ ।

कतिपय पक्षहरु संघीय संरचनाका विभिन्न तहहरुवीच असमझदारी बढाउँन, द्धन्द्ध चर्काउन र संघीयतालाई असफल पार्न उद्धत रहेको भन्दै त्यसप्रति नेकपा सचेत रहेको छ ।

नेकपाको नजरमा अन्य राजनीतिक दल

विगतको निर्वाचन परिणामवाट कमजोर अवस्थामा खुम्चिन पुगेको नेपाली काँग्रेसमा अन्यौल व्याप्त छ । वैचारिक र राजनीतिक पुनर्संरचनाको प्रसंग चले पनि काँग्रेसले सही दिशा ग्रहण गर्ने सम्भावना नरहेको नेकपा राजनीतिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।

आफ्नो असफलतालाई ढाकछोप गर्न काँग्रेसमा सरकारका बिरुद्ध भ्रामक प्रचारमा उत्रिने, सानातिना असन्तुष्टिलाई पनि उछाल्ने र राजनीतिककरण गर्ने प्रवृति देखापरेको नेकपाले जनाएको छ ।

‘नेपालको संसदीय इतिहासमा सर्वाधिक लामो समयसम्म सरकारको नेतृत्व गरेको र त्यसै अवधिमै मुलुकले थप दुर्गति बेहोर्नु परेको यथार्थलाई ढाकछोप गर्दै यतिबेला काँग्रेसका नेताहरु सरकार बिरुद्ध कहिले कथित अधिनायकवाद त कहिले असफलताको अनर्गल प्रचारमा उत्रिएका छन् ।’ नेकपाको राजनीतिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।

यधपी संबिधानको कार्यान्वयन र समृद्धिको यात्रामा काँग्रेससंग सम्भव भएसम्म समझदारी कायम गर्दै अगाडी बढने नेकपाको नीति रहेको छ । तर बिगतमा काँग्रेसका गलत नीति र भुमिकाका कारण राष्ट्र पछाडि पर्नु परेको यथार्थलाई ढाकछोप गर्न मिल्दैन् ।

काँग्रेसको जनविरोधी अर्थराजनीति, राष्ट्रियताका प्रश्नमा लुलो र ढुलमुलेपन, वामपन्थी बिरोधी पुर्वाग्रही चिन्तन र यथास्थितिवादको आलोचना गर्ने एवं राष्ट्रिय सरोकारका प्रश्नमा समझदारी निर्माण गर्ने नीतिका साथ नेकपा अगाडी बढछ ।

संघीय समाजवादी फोरम नेपाल यतिबेला नेकपा नेतृत्वकै सरकारमा सहभागि छ । तराई मधेसमा क्रियाशिल दलहरु मध्ये तुलनात्मक रुपमा उदार र सकारात्मक सोच राख्ने फोरम नेपालसंग लोकतन्त्र, संविधान, समृद्धि र राष्ट्रिय एकताको सुदृढीकरण एवं तराई मधेसको सामाजिक, आर्थिक रुपान्तरणका लागि सहकार्य गर्दै अगाडी बढनु आवश्यक रहेको नेकपाले जनाएको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल यतिबेला द्धिविधामा रहेको छ । यसका नेताहरुले संविधान संशोधन नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने अभिव्यक्ति दिन थालेको जनाउँदै नेकपाले निरन्तर संवादका माध्यमबाट लोकतन्त्र, संविधान, समृद्धि र राष्ट्रिय एकताको सुदृढीकरण एवं तराई मधेसको समाजिक, आर्थिक रुपान्तरणमा राजपा नेपाललाई पनि सकारात्मक स्थानमा उम्याउँने नीति लिनुपर्ने आवश्यकता नेकपाले महसुश गरेको छ ।

अगामी योजना

नेकपाले लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपुर्ण चरण पुरा गरिसकेको भन्दै अबको अगामी योजना स्वतन्त्र, आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्र निर्माण गर्दै मुलुकमा प्रगतिशिल उत्पादक शक्तिको विकास गर्ने र राज्यमा श्रमजिवि वर्गको वर्चस्व सुदृढ गर्दै समाजवादका आधारहरु तयार गर्ने रहेको उल्लेख गरेको छ ।
नेकपाले आफ्ना सम्पुर्ण शक्ति एवं कार्यकर्तालाई उत्पादन कार्यमा आबद्ध गर्ने जनाएको छ । उत्पादन र समृद्धिको अभियानको अगुवाई गर्ने गरी नेकपा पार्टी पङिक्तलाई पुनर्दीक्षित गर्नुपर्ने आवश्यक्ता महशुस गरेको छ । वर्तमान सन्दर्भमा सिंगो पार्टी पङितलाई यस दिशामा पुनः संरचना गर्ने गरी ठोस योजना अगाडी ल्याउँने नेकपाको योजना रहेको छ ।

अध्यक्षद्धय ओली र दाहालको प्रतिबेदनलाई काउण्टर दिदै गौतमको अर्को प्रतिबेदन

नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्धय ओली र दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनलाई काउण्टर दिदै वामदेव गौतमले अर्को प्रतिबेदन प्रस्तुत गरेका छन् ।

पार्टी र सरकारलाई व्यवस्थित गर्ने भन्दै गौतमले प्रस्तुत गरेको आफ्नो प्रतिबेदनमा सरकार सञ्चालन र पार्टी अध्यक्षद्धय ओली र दाहालको कार्यशैलीको बिरोध गरेका छन् । प्रधानमन्त्री नियुक्त भएसंगै ओलीले दुई मन्त्री नियुक्त गर्दा पार्टीको निर्णय बिना नै दुई मन्त्रीलाई सथप गराएको प्रति गौतमले बिरोध जनाएका छन् ।

‘दुखका साथ भन्नु पर्छ पार्टीले सरकार त चलाएकै छैन् सरकारले पार्टी चलाउँने कुरै आउँदैन्’ गौतमले आफ्नो प्रतिबेदनमा उल्लेख गरेका छन् ।

यसैगरी मन्त्रीपरिषद बिस्तार गर्दै गर्दा पार्टीमा छलफल एवं बिधिवत निर्णय नगरिएको प्रति गौतमले आफ्नो प्रतिबेदन मार्फत कडा बिरोध जनाएका छन् । फोरम नेपाललाई सरकारमा सहभागि गराउँने बिषयमा पार्टीमा छलफल एवं निर्णय नभएकोमा समेत गौतमले नेतृत्व प्रति आरोप लगाएका छन् ।

बिवादित अ्रन्तर्राष्ट्रिय गैरसरकारी धार्मिक संस्था युनिभर्सल पिस फेडरेशनको कार्यक्रममा सरकार र पार्टीका शिर्ष नेता सहभागि भएको प्रति आपती जनाउँदै गौतमले पार्टीमा निर्णय नगरी भएको बिरोध गरेका छन् ।

दुई तिहाई बहुमतको सरकार इतिहासमै शक्तिशाली भएको भए पनि दिनानुदिन अलोकप्रिय बन्दै जनताबाट बिस्थापित भईरहेको गौतमले आफ्नो प्रतिबेदनमा उल्लेख गरेका छन् । त्यसैले प्रतिपक्षी दलका नेताले लगाएको आरोपको प्रतिबाद गर्न नेकपाको बौद्धिक वर्ग देखा नपरेको जिकिर उनले गरेका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अरिंगाल बन्न आह्वान गरेको प्रति कटाक्ष गर्दै गौतमले कार्यकर्ता न अरिंगाल बन्न सके न मौरी नै बन्न सकेको उल्लेख गरेका छन् ।

‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले जति आह्वान गरेपनि कार्यकर्ताहरु नत अरिंगाल बन्न सकेका छन त मौरी बनेर मह दिन सकेका छन् । निर्वाचन र सो भन्दा पहिलेको पार्टीको लोकप्रियता निरन्तर घटेको अवस्था बारे कार्यकर्ताहरु चिन्ताग्रस्त देखिन्छन् ।’ गौतमले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरेका छन् ।

नेपाली इतिहासको पहिलो स्थिर र शक्तिशाली सरकारको यही गति र अवस्था रहयो भने अब हुने आमनिर्वाचनमा सरकारले आफूलाई मात्र नभई इतिहासको पहिलो शक्तिशाली पार्टी नेकपालाई समेत गम्भिर धक्का लगाउँने पक्क रहेको गौतमले जनाएका छन् । दुई तिहाइ बहुमत आफैलाई च्याप्ने बोझ बनेर प्रकट हुने सम्भावना बारे बौद्धिक व्यक्तित्वहरु बिश्लेषण गर्न लागेको प्रति सचेत हुन गौतमले सुझाव दिएका छन् ।

पार्टी एवं सरकार सञ्चालनका साथै बिभिन्न क्षेत्रमा गर्नुपर्ने कार्यका बारेमा छुटाछुटै बुँदाका रुपमा गौतमले आफ्ना सुझाव समेत प्रस्तुत गरेका छन् ।

महासेठको नियुक्त प्रति साहको आपति

नेकपा स्थायी कमिटीमा रघुवीर महासेठलाई नियुक्त गरेपछि त्यसको बिरोध भएको छ । नेकपा केन्द्रीय सदस्य श्रीप्रसाद साहले पार्टी अध्यक्षद्धय र महासचिवलाई निबेदन दिदै महासेठको नियुक्त प्रति बिरोध जनाउँनुका साथै खारेज गर्न माग गरेका छन् ।

पार्टी बिधान बिपरित महासेठलाई स्थायी कमिटीमा नियुक्ती गरिएको भन्दै नेता साहले उनको नियुक्ती खारेज गरी उनको ठाउँमा धर्मनाथ साह, रामपृत पासवान, नागेन्द्र चौधरी, लालबाबु पंडित, योगनारायण यादव, सत्रुधन महतो, वंशीधर मिश्र, बैजनाथ चौधरी मध्येबाट नियुक्ती गर्न माग गरेका छन् ।

यि नेताहरुभन्दा महासेठ जुनियर भएको भन्दै साहले सिनियर नेतालाई स्थायी कमिटीमा नियुक्ती गर्नुपर्ने माग गरेका छन् ।

बैठक सकेपछि पुगे मुख्यमन्त्री गुरुङ

नेकपा स्थायी कमिटीको बैठक निर्धारित समयमै शुरु भयो । बैठक तीन बजे सम्पन्न भयो । तर स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका पृथवीसुब्बा गुरुङ बैठक सकिएपछि बैठक स्थल धुम्बाराही पुगेका थिए ।

बैठक सकिएको जानकारी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारलाई जानकारी गराउँदै गर्दा बैठक स्थलमा गुरुङ पुगेका हुन् ।

अध्ययन गर्न भन्दै एक दिन छुटी

शनिबारदेखी नेकपाको स्थायी कमिटी बैठक शुरु भएको छ । बैठकमा अध्यक्षद्धय ओली र दाहालले प्रतिबेदन प्रस्तुत गरे । नेता गौतमले फरक प्रतिबेदन प्रस्तुत गरेका छन् । यि प्रतिबेदन अध्ययन गर्न भन्दै बैठक सोमबार पुनः बस्ने गरी आईतबार अध्ययन गर्नका लागि छुटी दिइएको छ ।

नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले बैठकमा प्रस्तुत भएको प्रतिबेदन अध्ययन गरी सोमबारको बैठकमा आफ्ना धारणा राख्नका लागि आईतबार बैठक नबस्ने बताए । खासमा आईतबार प्रतिबेदन अध्ययन गर्नका लागि छुटी दिएको उनले बताए ।

Loading...

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।

सम्बन्धित समाचार

Close