देशमुख्य समाचार

अब मलेसिया जाँदा पैसा तिर्नु पर्दैन, श्रम सम्झौतामा सहमति

नेपाली कामदारको लागत रोजगारदाताले नै बेहोर्ने सहमति सहित नेपाल र मलेसिया बिच दुई पक्षीय श्रम सम्झौतालाई अन्तिम रुप दिइएको छ । मलेसियाको पुत्राजयमा सम्पन्न नेपाल र मलेसियाका उच्च अधिकारीबीचको छलफलबाट श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिइएको हो ।

कामदारको हकहित र सुरक्षाका विषयमा दुवै देशका चासोका विषयहरु सम्बोधन भएको मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिनुभयो ।

नेपालको मुख्य चासोको रुपमा रहेको नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै लागत मलेसियन रोजगारदाताले ब्यहोर्ने सहमति भएको छ । दुवै पक्षले आन्तरिक प्रक्रिया पुरा गरेपछि कुटनीतिक माध्यमबाट हस्ताक्षरको मिति यथाशक्य तय गरी सम्झौता हुनेछ ।

सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधन मन्त्री एम कुलसेगरन नेपाल आउनु हुने छ । नेपालका तर्फबाट श्रममन्त्री गोकर्ण विष्टले हस्ताक्षर गर्नुहुनेछ ।

मलेसियासँग एमओयु गर्न तीन पटक मस्यौदाको ड्राफ्ट आदानप्रदान गरिएको थियो । दुई पक्षबिच पटक पटक भएको छलफलबाट मस्यौदा संसोधन र सहमति जुटाउँदै यसपटक अन्तिम रुप दिन लागिएको हो ।उज्यालोअनलाईनबाट

Back to top button
Close