नेकपा, राजपा र फोरमले सम्पति विवरण संकलन शुरु गर्यो काँग्रेसले संकलन गरे पनि सार्वजनिक गरेन्

सुभाष साह

प्रमुख चार राजनीतिक दलले सम्पति विवरण संकलन गर्नमा तातेका छन् । राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको व्यवस्था अनुसार सबै राजनीतिक दलमा रहेका केन्द्रीय पदाधिकारी एवं सदस्यले आफ्नो चलअचल सम्पति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले सम्पति विवरण बुझाउँन निर्देशन दिएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५३ को उपदफा १ मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चलअचल सम्पतिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालय समक्ष पेस गर्नुपर्नेछ ।

यसैगरी, दफा ५३ को उपदफा २ मा उपदफा १ बमोजिमको विवरण प्राप्त भएपछि त्यस्तो कार्यालयले अभिलेख राखी सम्पत्ति विवरण पेस गर्ने र नगर्ने पदाधिकारी, केन्द्रीय सदस्यको नाम विवरण पेस गर्नुपर्ने अवधि नाघेको एक महिनाभित्र प्रकाशन गर्ने उल्लेख छ ।

राजनीतिक दलसम्बन्धी ऐनबमोजिमको काम कुनै पनि दलका नेताले गरेका छैनन् । चारै राजनीतिक दलले पार्टीको केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यको सम्पति विवरण संकलन गरिरहेको जनाएका छन् ।

निर्वाचन आयोगले ऐनको दफा ५४ को उपदफा ७ मा सम्पत्ति विवरण पेस नगरेमा प्रत्येक व्यक्तिलाई १० हजार जरिमाना गर्न सक्ने व्यवस्था छ । आयोगले राजनीतिक दललाई पत्राचार गरी नियम पालना गर्न ताकेता गरेको छ ।

आयोगका सह–सचिव घनश्याम ओझाले १२५ राजनीतिक दललाई नै नियमानुसार आयोगलाई विवरणबारे जानकारी दिन पत्राचार गरिएको बताए ।

आयोगले ताकेता गरेपनि राजनीतिक दलहरुले विवरण संकलन गर्न तातेका हुन् । सबै पदाधिकारी एवं सदस्यको सम्पति विवरण संकलन गरेर सार्वजनिक गर्ने उनीहरुले जनाएका छन् ।

नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टीका पदाधिकारी एवं सदस्यलाई आफ्नो चलअचल सम्पति सहितको विवरण पार्टीमा बुझाउँन निर्देशन दिईसकेको बताए । निर्देशन अनुसार नेताहरुले विवरण बुझाउँने क्रम जारी रहेको उनले बताए । विवरण प्राप्त हुने बितिकै छिटै नै सार्वजनिक गर्ने नेता श्रेष्ठले बताए ।

काँग्रेस मुख्यसचिव कृष्ण पौडेलेले निर्वाचन आयोगको पत्र तीन महिना अघि प्राप्त भएको बताए । पत्रअनुसार पार्टीका पदाधिकारी र सदस्यहरुको विवरण संकलन एक महिना अघि नै संकलन भईसकेको उनले बताए । विवरण पार्टीमा प्राप्त भए पनि काँग्रेसले सार्वजनिक गरेको छैन् ।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सम्पति विवरण सार्वजनिक गर्ने की नगर्ने भन्नेमा आफूहरु अन्योलमा रहे पनि सार्वजनिक गर्ने बताए । बिभिन्न ६ पार्टी मिलेर राजपा नेपाल निर्माण भएको बताउँदै सो ऐनमा भएको व्यवस्था आफुहरुमा लागु हुने की नहुने भन्ने अन्योल रहेको बताए ।

यधपी आयोगका पत्र प्राप्त भएपछि सो अनुसार पार्टीले विवरण बुझाउँन निर्देशन दिएको बताए । पदाधिकारी एवं सदस्यहरुको बिवरण प्राप्त भएपछि पार्टीले सार्वजनिक गर्ने नेता यादवले बताए । पार्टीको तर्फबाट केन्द्रीय कमिटीका सबै नेतालाई छिटै नै विवरण बुझाउँन निर्देशन दिएको बताउँदै उनले छिटै नै सार्वजनिक गर्ने बताए ।

फोरम नेपालका महासचिव रामसहाय यादवले पार्टी केन्द्रीय कमिटीका नेतालाई आफ्नो चलअचल सम्पति सहितको बिवरण बुझाउँन निर्देशन दिएको बताए । कतिपय नेताले बुझाईसकेको भए पनि सबैको आउँन बाँकी नै रहेको उनले बताए । सबै नेताको प्राप्त भए पछि पार्टीले सार्वजनिक गर्ने उनले बताए ।

तर पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहेका सदस्यले निर्वाचन भएको दुई महिनाभित्र आफ्नो चलअचल सम्पत्ति पार्टी मुख्यालयमा बुझाउनुपर्ने निर्वाचन आयोगको कानुन उल्लंघन गरेबापतको जरिवाना तिर्नुपर्ने भएको छ ।

काँग्रेस नेताले पार्टीमा विवरण बुझाए पनि पार्टीले त्यसलाई सार्वजनिक गरेको छैन् । अन्य तीन दलका नेताहरु अहिले बुझाउँने क्रममै रहेका छन् । ऐन पाल्ना कुनै पनि राजनीतिक दलले नगरेपछि उनीहरुले जरिवाना तिर्नुपर्ने देखिएको छ । यसरी सबैभन्दा धेरै जरिवाना राजपाले तिर्नुपर्ने देखिएको छ भने सबैभन्दा कम कांग्रेसको भागमा परेको छ ।

ऐन उल्लंघन गरेबापत राज्यलाई १ करोड ५५ लाख ५० हजार जरिमाना तिर्नुपर्ने देखिएको छ । राजपाले ८१ लाख ५० हजार, नेकपाले ४४ लाख १० हजार, फोरम नेपालले २४ लाख ५० हजार र कांग्रेसले ८ लाख ५० हजार जरिवाना राज्यलाई तिर्नुपर्ने हुन्छ ।

राजपा नेपाल ८१५, नेकपाका ४४१, फोरमका २४५ र कांग्रेसका ८८ जनाको केन्द्रीय समिति रहेको छ । प्रतिव्यक्ति १० हजारका दरले यी सबै केन्द्रीय पदाधिकारी र सदस्यले जरिवाना तिर्नुपर्ने हुन्छ ।

गत ३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेकपा बनेको थियो । स्रोतका अनुसार नेकपाका ३० नेताले मात्र सम्पत्ति विवरण बुझाएका छन् ।

महाधिवेशन भएको अढाई वर्ष बितेपछि कांग्रेसका नेताले सम्पत्ति विवरण बुझाएका छन् । तर पार्टीले अहिले सम्म सार्वजनिक गरेको छैन् ।

७ वैशाख २०७४ मा विभिन्न ६ वटा पार्टी मिलेर बनेको राजपा नेपालका कुनै पनि नेताले अहिलेसम्म पार्टीमा विवरण नबुझाएका कारण सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन् । उपाध्यक्ष सत्यनारायण मण्डलले निर्वाचन आयोगले सम्पत्ति विवरण सार्वजनिक गर्न र त्यसको जानकारी आयोगलाई गराउन पत्राचार गरेको पुष्टि गरे । तर, नेताहरूको विवरण पार्टीमा आइनसकेकाले सार्वजनिक नगरिएको बताए ।

२ जेठ २०७२ मा संघीय समाजवादी सहितका दल र मधेसी जनाधिकार फोरम नेपालबीच एकिकरण भई बनेको संघीय समाजवादी फोरम नेपालका पदाधिकारी र सदस्यले पार्टीमा सम्पत्ति विवरण बुझाएका छैनन् ।

ट्याग्स् ।

कलैयालाईभ

कलैयालाईभ न्यूज नेटवर्क २०६३ कार्तिक देखी संचालित नारायणि अञ्चलकै प्रथम न्यूज नेटवर्क हो ।
Close