लेख / बिचार

मोफसलमा स्थानिय पत्रिकाको अवस्था र समस्या

बिहानिको चिया संगै वा प्रातकालिन भ्रमण पश्चात अखबार पढनेको भिड पत्रिका पसलहरुमा देखिन्छ । इलेक्ट्रोनिक मिडियाको बिकाश संगै प्रिन्ट मिडियाको पाठक घटेको छ भन्नेहरुलाई त्यस भिडले नराम्रो झापड हानेको छ । आज पनि प्रिन्ट मिडियाको पाठक र विश्वसनियतामा कमि आएको देखिदैन ।

यस सम्बन्धमा कलैयाको भरतचोकमा पत्रिका पसल सञ्चालन गरेका संचालक तथा वरिष्ठ पत्रकार सत्यप्रकाश श्रेष्ठ भन्छन् –“ पहिले पत्रिका पाठकको संख्यामा कमि थियो तर अहिले पहिलेको अनुपातमा पाठको संख्या बढको छ, यधपि यस संगसंगै एउटा नौलो रोग देखा परेको छ ।” श्रेष्ठले भन्छन्– “पत्रिका किनेर भन्दा मागेरका पढ्नेको संख्या बढि रहेको छ, साथै पसलमा देखिएको भिडको तुलनाका क्रेता पाठकको संख्या थोरै मात्र रहेको छ ।” आफनो पिडा सुनाउदै श्रेष्ट भन्छन् “मागेर पत्रिका पढ्नले गर्दा कत्ति पल्ट त भएको पत्रिका पनि बेच्न पाइदैन, कत्ति त पत्रिका मागेर पढछन् पढछन् फुत्त कता पो हराउछन् ।”
पत्रिका पसलेका समस्या भनेको क्रेता पाठकको संख्या तुलनात्मक रुपमा बढ्न नसक्नु हो तर क्रमिक रुपमा त्यसमा पनि बढा्त्तरी हुदै जाने हो तर यस संगैसंगै स्थानिय स्तरमा र राज्यको केन्द्रितकृत नितिले गर्दा स्थानिय पत्रिकाको अवमुल्यन पनि एउटा समस्याको रुपमा देखिन आउछ ।
स्थानिय स्तरमा स्थानिय पत्रिकाको स्तरमा अवरोधमा राज्य र स्थानिय स्तरबाट सहयोग नभई हुने समस्या र अर्को स्थानिय स्तरमै पत्रिका प्रकाशनमा आएको विकृति जिम्मेवार रहेको छ । राष्ट्रिय दैनिक पत्रिकाको भिडमा एक त आफै स्थानिय पत्रिकाहरुलाई स्थापित हुन गाह्रो छ झन् त्यस माथि पाठकहरुले राष्ट्रिय पत्रिका संगै स्थानिय पत्रिका सित्तैमा लाने बानिले स्थानिय पत्रिकाको अवस्था बिग्रदै गएको छ । भनिन्छ स्थानिय पत्रिकाको स्तर भएन तर स्थानिय पत्रिकाको स्तर उकास्नमा राज्य स्तरबाट सक्दो प्रयास र स्थानिय स्तरबाट पनि अग्रसर हुने हो भने स्थानिय पत्रिकाको स्तर उठ्न गाह्रो छैन ।
स्थानिय स्तरमा पत्रिकाको लागि प्रविधिको उपलबध्ता ,पत्रिका प्रकाशन गर्ने लाग्ने आर्थिक ब्यय अनि राष्ट्रिय पत्रिका संगको तुलना, यो सुर्यको अगाडि चिम बत्तिको प्रभाव भन्दा कम नहोला । “पत्रिका पाठक स्थानिय पत्रिका किनेर पढे, बजारमा स्थानिय पत्रिकाको माग बढ्छ, विज्ञापन पनि आउँछ” कलैयाबाट प्रकाशित मिलन मार्ग साप्ताहीकका प्रकाशक रोशनराज अर्यालयले भने । आर्थिक स्रोत पाए पछि त स्थानिय पत्रिकालाई बाध्यात्क पनि आफनो स्तर उकास्नु पर्ने अवस्था आउँने अर्यालयको भनाई रहेको छ ।

स्थानिय पत्रिकालाई उकास्नको लागि स्थानियको भुमिका तथा योगदान महत्वपुर्ण हुने नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष लक्ष्मी साहले बताउँदै भने–“स्थानिय पत्रिकालाई किनेर पढने बानी भए स्थानिय पत्रिकाको बिकास हुन्छ र त्यसले स्थानिय पत्रिकाको स्तरमा पनि बिकास हुन्छ ।”
यस सम्बन्धमा प्रेस चौतारी नेपाल बाराका अध्यक्ष सुभाषप्रसाद साह भन्छन्– “मागेर पत्रिका पढ्ने एक त आफै एउटा समस्या हो र यो समस्याको मारमा बिशेषत स्थानिय पत्रिकाहरु परिरहेका छन्, एउटा पत्रिका संग प्रकाशक, सम्पादक, संवाददाता, हकर जोडिएका हुन्छन् । सबै समाजसेवाको लागि आवद्ध भएका हुदैन्न स्थानियले नै स्थानिय पत्रिका उपेक्षित गरे स्थानिय पत्रिकाको उभो कस्ले लगाउने हो अध्यक्ष साहले प्रश्न गरे ।” बारा साप्ताहिक पत्रिका प्रकाशन गदै आएका साह भन्छन् आर्थिक अभावकै कारण आफनो पत्रिकाको सम्पादक देखि हकर सम्मको काम आफै गर्दै आईरहेको छु ।
बिषेशत स्थानिय स्तरबाटै सहयोगको भावना हुनु पर्ने हो तर यस संगै राज्यको निति पनि खराब भएको भन्दै प्रेस युनियनका सचिव अध्यक्ष सिकेन्द्र पासवान भन्छन् “ प्रेस काउन्सिलको पत्रिका वर्गिकरणको नितिमा खोट छ । जिल्लामा ५० प्रति पत्रिका प्रकाशन गर्ने ले राजनितिक पहुँचको भरमा सजिलै पत्रिका वर्गिकरणमा पार्ने र हण्डि खाने प्रवृति बसेको तर उच्च मनोबलका साथ स्थानिय समस्याहरुलाई उजागर गर्दै पत्रिका प्रकासन गर्ने वर्गिकरणमा नपर्नु, यस्तो राजनितिक हस्तक्षेप रोकिनु पर्छ वा अब स्थानिय पत्रिकाको वर्गिकरण स्थानिय स्तरमा नै गर्ने परिपाटि बसाल्नु पर्छ ”
पत्रकारीतामा पसेको विकृति औल्याउदै पासवान भन्छन् “ केहि पत्रकार पत्रकारीता माथि नै दाग लगाउदै सरकारी विज्ञापन लुकाउनकै लागि पत्रिका प्रकाशन गर्ने, पत्रिकालाई अनुचित काममा प्रयोग गर्ने र सरकारी कार्यलयहरुमा डर र त्रासको वातावरण सिर्जना गर्नमा लागेका छन् जस प्रति महासंघ आँखा चिम्लिनु बाहेक केहि गर्न सक्दैन किनकि त्यसतालाई छुनु पहिल्यै दबाब आईरहेको हुन्छ ।
स्थानिय पत्रिकाको अवमुल्यन वास्तवमा राज्यको टालटुले निति र स्थानिय स्तरमा बढ्दो दण्डहिनता नै प्रमुख कारण रहेको छ । राज्यले यस तर्फ ध्यान नदिए स्थानिय स्तरमा यसले एउटा बिकराल समस्याकै रुप धारण गर्ने छ ।

बिबेक बस्नेत
कलैया,बारा

Back to top button
Close