लेख / बिचार

मेरो लेखनी

नशा आखिर नशा नै हुदो रहेछ । पत्रिका पढ्ने बानिको नशाले र्याखर्याख्ति पारिसकेको मैले थाहै पाउन सकिन र म पत्र पत्रिकाको नशामा चुर्ललुम्म डुबिसकेको रहेछु । नशाको खुराक बढ्दै गए पश्चात, लेखनको नशाले पनि मलाई अपठ्यारो पार्न थाल्यो र ख्याल ख्यालैमा पाठक मञ्जबाट लेख्न शुरु गरेको लेखनले मात्र अब नपुग्ने भइयो । पत्रिकामा आएका लेखको चर्चा र लेखकको चर्चाले त्यस प्रति मोह जगायो र शुरु भयो मेरो अपुरो लेखन ।

हत्तेरिका एकपटक फेरी छापिएन कसरी लेखेर पठाउने हो । एक पटक मात्र पनि पत्रिकामा नाम सहितको फोटो छापिए क्या मज्जा ! बिहान बिहानै पत्रिका पसलमा पत्रिका आईपुग्नु भन्दा अगावै पत्रिका पसलमा पुगिन्थ्यो । यो क्रम पत्रिका आईपुग्ने बेला सम्ममा ३–४ पटक त भई सकेकै हुन्थ्यो । यो क्रम एक हप्ता भर चल्छ किनकि अघिल्लो हप्ता केहि खेस्राखेसि पत्रिकाहरुमा मेल गरिएको हुन्छ । अब यो किन छापिदैन, के पुगेन कसरी पुगेन, कसरी पुगेन यो कसले बताउने । जुन कुरा पुगेन त्यो कसरी पुर्याउने भन्ने बिषयमा जत्ति दिमाग खियाए पनि हात लाग्छ शुन्य । प्रत्येक पटकको लेखनमा के त्रुटि भएको हुन्छ, त्यस प्रति अनभिज्ञ भईन्छ र पत्रिकामा आपनो मन्दबुद्धिको लेख नछापिए त्रुटि भईरहेको छ भन्ने कुराको ज्ञान हुन्छ । तर त्यसलाई कसरी सच्चँयाउने सल्लाह दिने पाईदैन ।

छापिदै छापिएको त होइन तर एक पटक ठेगाना र फोटो रहित नाम मात्रको लेख त छापिएको हो तर त्यो विचारको लेखक बिबेक बस्नेत नै हो भनेर मानिसले पत्याउने आधार नै भएन । बिबेक बस्नेत त कति कति अब मैले चित्त बुझाउने ठाँउ नै भएन् । यर्थाथमा मेरो प्रचार हुन पाएन ।

प्रचार सहितको लेख छापिने आशामा कुन चाहि क्षेत्रमा लेखेर पाठाइएन् । खेलकुद, आर्थिक, राजिनितिक विचार सबैमा कलम चलाउने र छपाउने प्रयास गरे तर अह काम लागेन हुदाँहुदाँ व्यङ्गयको क्षेत्रमा कलमहरु कम चलेको थाहा पाए पश्चात व्यङ्गयमा पनि हात हाले, साथिहरुलाई पढाउदा त पेट मिचि मिचि हासे तर मेरो मन राख्न मात्र राम्रो भनेका रहेछन् भन्ने आभास तब भो जब व्यङ्गय पनि छापिएन ।

फिल्म राँकस्टारमा भने झै विश्वमा कहलिएका गायक, संगितकर्मि, लेखक, अभिनेत वा आफनो क्षेत्रमा नाम कमाएका सबैको अतित दुखदायी रहेको वा जिवन जिउने क्रममा प्रेम पिडामा गुजरिरहेका हुन्छन् । यस कुरालाई आधार मान्दा विश्व परिवेशमा त मैले भ्याउदिन तर नेपालमै पनि प्रेम वियोगान्तमा मर्मस्पर्शि गित गाउने अरुण थापा,सरुभक्त हुन् वा श्रीमतिको वियोगमा गौरी शोककाब्यको रचना गर्ने कविवर माधव घिमिरे वा जिवनको अन्तिम समय हो, थाहा पाउदा पाउदै अन्र्तमनको यात्रा शुरु गर्ने जगदिश घिमिरे वा यहि सबैमा दुःखदायी अतित र वर्तमानमा पिडा भएको झल्को दिन्छ । साथै उच्च नाम राखेकाहरु सोमरस र क्यान्सर पाइपको पनि सौखिन भएको पढेको थिए । तर म चाहि त्यहि राँकस्टारको रणविर कपुर जस्तै जस्को माता पिता पनि जिउदै छन्, कुनै रात भोको सुत्नु परेको अवस्था छैन साथै शारिरीक अशक्त पनि छैन । अब मैले के कसरी लेखनिय स्तरियता प्राप्त गर्ने म आफै अनभिज्ञ छु । दोस्रो विकल्पको बारेमा पनि सोच्नुका साथै प्रयोगमा पनि ल्याएको हु ।

दोस्रो विकल्प अर्थात लेखकको प्रिय मद्यपान र धुम्रपान पनि प्रयोगमा ल्याएको हो । हवस्स् गन्हाएको भएपनि लेखकिय सपना साकार पार्न घाँटि बाँङ्गो पार्दै घुट्क्याए ओहो छाति पोलेर सकिएन । त्यस रात डरले घर पनि गईएन । सोमरसमा नसकिने भएपनि भोलि पल्ट क्यान्सर पाइपको पालो थियो । एक सर्को मै खोक्दा खोक्दा आँखा राता भएका थिए । यो पनि नसिकने भईयो ।

अब म विकल्प बिहिन भए के गरेर, कसो गरे मेरो लेखनिमा सुधार आउने हो र राष्ट्रिय दैनिकमा म छापिने छु । अबको आशा शब्दलाई गहन रुपमा ल्याउन, आफनो बौद्धिक क्षमता अभिवृदि गर्न सके शायद मेरो तिर्थ यात्रा पुरा होला । आर्थिक अभावको कारण आजकल म पुस्तकालय धाउदै छु, प्रविधिको अपुरो ज्ञानलाई पुरा गर्न आफनो स्तर उकास्दै छु । आफनो सिर्जनालाई अझै मर्मस्पर्शि बनाउने प्रयास गर्दै छु । कहिले छापिने हो कुरेर बस्नु नै मेरो आजको काम ।
बिबेक बस्नेत
सम्पादक
नमस्ते टाइम्स साप्ताहिक,बारा

Back to top button
Close