अन्तर्वार्ता

कानुन उल्घंन गर्नेलाई कारवाही हुन्छ – एसपी दानसिंह बोहरा

नेपाल प्रहरीको सेवामा प्रबेश गर्नु अघि सम्म आफ्नै सुदुरपश्चिमको जिल्ला दार्चुलाको गाउँमा सहयोगी शिक्षकको रुपमा कार्यरत दानसिंह बोहरा प्रहरी निरिक्षकको रुपमा २०४६ सालमा प्रहरी सेवामा प्रबेश गनुभयो । एमपिए सम्मको अध्ययन पुरा गर्नुभएका बोहरा अहिले जिल्ला प्रहरी कार्यालय बारा कलैयामा प्रहरी उपरिक्षक ( एस पी ) को रुपमा कार्यरत हुनुहुन्छ । राम्रो काम गरेवापत वेस्ट प्रहरी औफिसरको रुपमा सम्मानित एसपी बोहरा कामकै शिलशिलामा चिन, अमेरीका, सुडान, रुस लगायत बिभिन्न २५ भन्दा बढी देशमा सेवा एवं भ्रमण तथा अनुभव गर्नुभएको छ । बारा जिल्लाको शान्ति सुरक्षाको बिषयमा केन्द्रीत भई कलैयालाईभ.कामका अरुणकुमार साह र सुभाषप्रसाद साह ले लिएको अन्तरर्बार्ताको सारसंक्षेप ः 

कलैयालाईभ.काम कामको शिलशिलामा अन्य जिल्ला पुग्दाको र बारा जिल्लामा बस्दाको के भिन्ता पाउँनुभयो ?

बोहरा :  अहिले तराई मधेसका जिल्ला चलाउँन चाईलेन्ज छ । किन भने राजनीतिक दलसंगै नेताहरु पनि बढेका छन् । हामीले कानुनको पालना गर्दै कानुनको पालना गर्न लगाउँने कार्य अन्य जिल्ला भन्दा बारामा जोखिम अवश्य रहेको छ । खुल्ला सिमाक्षेत्र तथा जनघनत्वको कारण समस्या अवश्य रहेको छ । तै पनि कानुनको कार्यन्वयनमा हामी लागेका छौ ।

कलैयालाईभ.काम बाराको शान्ति सुरक्षाको अवस्था कस्तो रहेको छ ?

बोहरा : बारा जिल्लाको शान्ति सुरक्षाको अवस्था कस्तो रहेको छ भन्ने बिषयमा मैले भन्नु भन्दा पनि यहाँका जनताले त्यो भन्ने कुरा हो । बाराको शान्ति सुरक्षामा मैले यो गरे त्यो गरे भन्नु भन्दा पनि यहाँका नागरिकले त्यो कुरा महशुस गर्ने कुरा हो । बारा जिल्लाको शान्ति सुरक्षा मा पहिलेको र अहिलेकोमा के फरक छर अहिलेकोमा के फरक छ सबैलाई थाहा भएकै कुरा हो । सारमा भन्नु पर्दा हामी अहोरात खटेर बाराली जनताको सुरक्षाको लागि लागिपरेका छौ ।

कलैयालाईभ.काम : राती ८ बजे नै कलैयाको बजार बन्द गर्नुपर्ने कारण के होला ?

बोहरा  : हामी बजार होईन ८ बजे पछि भट्टी पसल मात्र बन्द गर्ने गरेका छौ । अन्य पसलहरु खुलेकै छ । भट्टीमा रक्सी खाएर मातिने कामले मातिने जडयाहाका साथै अन्यलाई समेत समस्या पर्ने भएकोले यसमा हामीले अगाडी नै सचेत भएका हौ । यसमा निगरानी बढाएका छौ । कुनै अप्रिय घटना हुनुभन्दा अगाडी नै सचेत रहन यस्तो कदम चालेका हौ ।

कलैयालाईभ.काम ः नेपाली सिमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीहरु भारतीय प्रहरी तथा बासिन्दाबाट पीडित भएका छन् यसलाई कसरी समाधान गर्न सकिन्छ ?

बोहरा ः यो समस्या बारा जिल्लाको मात्र नभएर राज्यको नै हो । त्यसैले यस बिषयमा केन्द्रले ठोस काम गर्नुपर्ने हुन्छ । र सिमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको लागि केन्द्रले काम गरिरहेको छ यसलाई अझै प्रभावकारी बनाउँदै लग्ने छ । यस्ता कार्यको बारेमा केन्द्रले ठोस पहल गरेर यस्ता बिषयको समाधान गर्न जरुरी रहेको छ ।

कलैयालाईभ.काम ः तस्करी कार्य अझै नरोकिनुको कारण के होला ?

बोहरा ः पारीपट्टी रमेश खरेल छ । यहाँ म छु । यता सानातिना काम जस्तै मल ल्याउँने काम भएको छ । तर पहिले भन्दा धेरै सुधार भएको छ । कुनै प्रहरी यस्तो कार्यमा संलग्न छैनन् । यदी त्यस्तो कार्यमा फेला परे म कारवाही गर्छु । पहिला पहिला प्रहरी प्रंमुख सरुवा मागेर तराई मधेसमा आउँने गर्थे तर म त्यस्तो सरुवा मागेर पैसा कमाउँनको लागि आएको होईन् ।

कलैयालाईभ.काम ः अचेल प्रहरी नै चोरीका मोटरसाईकल सेतो प्लेट लगाएर चढिरहेको जनगुनासो छ नि ?

बोहरा ः यस्तो कार्य पहिला पहिला थियो होला । अहिले छैन । प्रहरी यस्तो कार्यमा छैनन् । चोरीको गाडी चढने प्रहरी होस वा भारतीय तथा नेपाली सबैलाई कारवाही भएको छ । हामी कसैको पनि सिफारीस नसुनि कानुन मिच्नेलाई कारवाहीको दायरामा ल्याउँछौ ।

कलैयालाईभ.काम ः कलैयाको ट्राफिक व्यवस्था सुधार्न किन नसकिएको होला ?

बोहरा ः म कलैया आउँदा बिहारको मोतिहारी जस्तै थियो । जथाभावि हेलमेट नलागाई हिडने तथा भन्सार नतिरि भारतीय गाडी चढनेलाई कारवाही भईरहेको छ । भारतीय दुताबासकै गाडी भन्सार नतिरि यता चाउँदै गर्दा मैले पक्राउँ गरी भन्सार बुझाएको छु । यसका साथै यहाँको संस्कार पनि हो जुन सुध्रिनु पर्छ । नागरिक पनि सचेत हुनुपर्छ । कानुनको भित्र बस्नुपर्छ । कानुन उल्घंन गर्नेलाई कारवाही हुन्छ ।

कलैयालाईभ.काम ः बर्तमान सरकारको कार्यशैलि कस्तो रहेको छ ?

बोहरा ः म सरकारको एक कर्मचारी भएको नाताले यस बिषयमा केही बोल्न मिल्दैन् ।

कलैयालाईभ.काम ः तपाई यस पत्रिका मार्फत बाराबासी तथा आम पाठकलाई के सन्देश दिन चाहनुहुन्छ ?

बोहरा ः म यस पत्रिका मार्फत शान्ति सुरक्षा कसरी कायम गर्न सकिन्छ त्यसको लागि सबैले मिलेर काम गरौं । प्रहरी एकलैले केही गर्न नसकिने भएकोले शान्ति सुरक्षा कायम राख्नको लागि बाराबासी, नागरिक समाज, बुद्धिजिवि, पत्रकार लगायत सबैले यस कार्यमा सहयोगीको रुपमा लाग्न जरुरी रहेको छ । धन्याबाद ।।।

Back to top button
Close