लेख / बिचार

मधेस आन्दोलन पछिको तराई–मधेस

सुभाषप्रसाद साह

बर्षौदेखी अधिकार एवं पहिचानबाट टाढा राखिएका मधेशीहरु आफ्नो अधिकार तथा पहिचानको लागि आन्दोलन गरेको पाँच बर्षभन्दा बढी भयो । नेपालमा राजनीतिक शासकिय स्वरुपको परिवर्तनको लागि पटक–पटक भएको आन्दोलनमा मधेसीहरु गैरमधेसीसंगै आन्दोलनमा होमिएका थिए । २००७ साल देखी २०६२÷०६३ सम्मको आन्दोलनमा मधेसीको सक्रिय सहभागिता नभएका होईन । राणा शासनको बिरुद्ध भएको आन्दोलन होस वा पञ्चायतकाल बिरुद्धको आन्दोलन अथवा पुर्व राजा ज्ञानेन्द्र साहको निरंकुश शासनको बिरुद्धमा गणतन्त्रको लागि भएको आन्दोलन होस हरेक आन्दोलन एवं परिवर्तनको लागि नेपालमा भएको बिद्रोहमा मधेसीको सक्रिय सहभागिता रहेको छ । तर हरेक आन्दोलन एवं बिद्रोह पश्चात पाईएको उपलब्धिमा मधेसीहरुलाई दिईने सेवा सुबिधामा बञ्चित गर्ने काम भयो । त्यसैको परिणाम स्वरुप अधिकार एवं पहिचानको लागि २०६३ मा मधेस आन्दोलन भयो । मधेस आन्दोलन पश्चात नेपालमा पनि मधेसी छन् जो अधिकार एवं पहिचानबाट टाढा रहेको कुरा बिश्वले थाहा पायो । र मधेसीले नेपाल सरकारको हरेक क्षेत्रमा समानुपातिक सहभागिताको लागि ढोका खुल्यो । साथै काठमाडौ केन्द्रीत शक्तिलाई संघियतामा लैजाने बलियो आधार तय भयो । नेपाल भित्रै हेपिदै गरेका मधेसीहरु एक जुट हुन थालेपछि हेप्ने काममा कमी भएको भएपनि हेप्ने काम रोकिएको छैन् । मधेसीलाई गैरमधेसी क्षेत्रमा मधेसीया भन्नेहरुको कामी भएको छ । मधेसी पनि नेपाली नै हुन् भन्ने नरुचाउँनेहरु पनि मधेसीको अस्तित्वलाई स्वीकार्न बाध्य बनायो मधेस आन्दोलनले ।

एउटा एनजिओको रुपमा उदाएको मधेसी जनअधिकार फोरम नेपाल मधेस आन्दोलन पछि पार्टीको रुपमा देखा पर्यो । मधेस आन्दोलनबाट मधेसीले अधिकार एवं पहिचान त पाए तर मधेसीले पाएको अधिकारलाई संस्थागत गर्ने मधेसी नेताहरु आफैमा लडन थाले । कुनै बैचारिक भिन्ताको कारण नभई सताको स्वार्थमा लागेर मधेसी दलहरु फुटने क्रम शुरु भयो । फोरमको नेतृत्वमा भएको मधेस आन्दोलन अघि नै नेपालमा मधेस बिद्रोहको तयारी नेपाल सदभावना पार्टीले गरेको भएपनि मधेसीहरु आफ्नो अधिकार एवं पहिचानको लागि ढिलो आन्दोलनमा आयो र मधेसमा फोरम स्थापित भयो । तर संबिधान सभाको चुनाव पश्चात नेपालमा चौथो शक्तिको रुपमा उदाएको फोरम सताको स्वार्थको कारण चिराचिरामा बाडियो ।

मधेस आन्दोलन पश्चात वास्तबिक मधेसीहरुले मधेस आन्दोलनको उपलब्धिको उपभोग गर्न सकेनन् । जसले मधेस आन्दोलनलाई दबाउँन खोजेका थिए आजभोलि त्यही मधेसको मसिहाको रुपमा उदाएको देखिन्छ । त्यसकै छोरा, छोरी, आफन्त, नातागोता तथा आसेपासेको हालिमुहालि रहेको छ र तिनै व्यक्तिहरु आन्दोलन पश्चातका उपलब्धिमा रमाई रहेका छन् । फोरमका नेता उपेन्द्र यादवले फोरमलाई फुटनबाट बचाउँन सकेनन् । फोरम नेपालबाट अलगिएका नेताहरुले यादवलाई बिभिन्न आरोप लगाउँदै नयाँ पार्टी खोल्न थाले र मन्त्री भएर नातागोताको पालन पोषणमा व्यस्त भए । मधेस आन्दोलन पछि भएका उपलब्धिलाई संस्थागत गर्नको लागि मधेसीबादी दलले खेल्नुपर्ने भुमिकामा कमि भएकोले आन्दोलनमा होमिएका मधेसीले खोजे जस्तो भएको छैन् ।

मधेस राजनीतिले गर्दा बिजयकुमार गच्छदार कहाँ पुगे ? उनको अवस्था के छ ? जयप्रकाश गुप्ता कुन अवस्थाबाट गुज्रिरहेका छन ? उनको आर्थिक हैसियत के हो ? भन्ने बिषय सर्बोच्च अदालतका फाईलहरुले छर्लग पार्छन । हृदेश त्रिपाठी, राजेन्द्र महतोसंग कति सुन छ भन्ने खबरले पनि उनको मधेसी जनताप्रतिको सदभावको राजनीतिबारे खुलासा भएकै छ । यिनको राजनीतिक पृष्ठभुमि के हो, उनीहरु मधेसी जनताबाट प्रभावित छन् कि सताबाट भन्ने पनि नबुझिएको कुरा पनि यतिबेला तराई मधेसमै चर्चाको बिषय बनेको छ ।

तुलनात्मक रुपमा अहिले मधेसी मुलका अनुहार मात्र नियाल्ने हो भने बर्तमान सरकारमा २७ जना मधेसी मन्त्री भेटिन्छ । ४९ सदस्यीय मन्त्रीपरिषदमा २७ जना मन्त्री मधेसी मुलका हुनु चानचुने कुरा होईन । केन्द्रीय राजनीतिमा अहिले मधेसको बिकास, शान्ति, सुशासन, सुरक्षा तथा व्यावसायिक बिकासका लागि क्याबिनेटबाटै धेरै निर्णय गर्न सक्ने बहुमत क्षमता मधेसले पाएको छ । तर खै त यी बिषयमा चर्चा भएको ?

मधेस आन्दोलनमा शहिद भएका, गाउँ–गाउँबाट आएका युवाहरु, बृद्धबृद्धाको पसिना एवं बलिदानीलाई मधेसी नेताले सताको भर्याङ्ग बनाए । कुर्सीमा रहुनजेल केही नगर्ने नेता सताबाहिर हुन बितिकै यो भएन त्यो भएन भनेर सोझासाझ मधेसीलाई झुक्याउँने काम गर्नमा अगाडी रहेका छन् । मधेस आन्दोलनले थुप्रै मधेसी नेता जन्मायो तर मधेसको समस्या पहिचान गरी त्यसको समाधान गर्ने स्वच्छ नेता नपाएर मधेसमा भ्रष्टाचार, लुटपाल, अपहरण, हत्या, हिंसा व्यवसाय जस्तै मौलाएको छ । अहिले भ्रष्ट तथा लुटेराहरु संगठित भएर मधेसलाई चुसिरहेका छन् । गरिब मधेसी नागरिक झन गरिब हुदै गईरहेका छन् भने धनीहरु झन धनी बन्दै गईरहेका छन् । गैरमधेसी क्षेत्रभन्दा बढी मधेसी क्षेत्रमा बढदै गईरहेको भ्रष्टाचार, लुटपाल, हत्याहिंसालाई रोक्नको लागि सम्पुर्ण मधेसबादी पार्टीहरु एकजुट भएर अगाडि नबढे मधेस झन कंगाल बन्ने छ ।

तराई–मधेसको बिकासको लागि हुलाकी राजमार्ग, बारामा बनाउँन भनिएको अन्तरराष्ट्रिय बिमान स्थल, काठमाडौं तराई–मधेस फास्ट टयाक, पुर्व–पश्चिम सम्म भएर जाने रेलमागको बिकासको लागि मधेसीबादी पार्टी तथा नेताहरु अन्य पार्टी भन्दा अग्रिम मोर्चामा लाग्नुपर्ने समय भएको छ । साथै तराई मधेसको ऐतिहासिक एवं पर्यटकिय स्थल लुम्बिनी, सिम्रौनगढ, जनकपुर, गढीमाई, नेपालगंज लगायतको बिकासको लागि ठोस पहल गर्नुपर्छ । व्यापारीक केन्द्रको रुपमा रहेको बीरगंज–पथलैया, बिराटनगर, भैरहवा, बुटवलको शान्ति सुरक्षा तथा थप लगानीको बाताबरण बनाउँन लाग्नुपर्ने हुन्छ । मजदुरहरुको आन्दोलन होस वा अन्य कुनै कारणले बन्द हुदै गईरहेको उधोग, कलकरखाना खोलाउँनको लागि नेताहरुले पहल नगरे झन वेरोजगारी समस्या बढदै जाने र मधेसमा बिकृती बढदै जानुलाई कसैले रोक्न सक्दैन् । समस्या एवं बिकृतीको रुपमा रहेको दाईजो प्रथा, बालबिवाह, बोक्सी, चर्पी नबनाउँने समस्यालाई रोक्नको लागि शिक्षाको बिकासमा बिस्तारमा लाग्न अब ढिलो गर्नु भएन् ।

लेखकः
सुभाषप्रसाद साह
अध्यक्ष
प्रेस चौतारी नेपाल (बारा)

Back to top button
Close